लन्डन– गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले संघको केन्द्रिय अध्यक्ष पदका लागि भोलि बेलायत बाट आपुचारिक घोषणा गर्ने भएका छन्। अल्डरशटस्थित एम्पायर हलमा मंगलबार २४ सेप्टेम्बर अपरान्ह ६ बजे देखि घोषणासभा शुरु हुने कुल आचार्य जिताऔं अभियान समितिले जनाएको छ। सभामा एनआरएन युकेका वर्तमान तथा पूर्व पदाधिकारीहरु, बेलायतस्थित संघसंस्थाका पदाधिकारीहरुलाइ निम्तो गरिएको सो समितिले जनाएको छ। सभामा युरोपबाट पनि सहभागीहरु आउने बताइएको छ।
आफ्नो उम्मेदवारीको सिलसिलामा साथीहरुको राय बुझ्न विश्व भ्रमणमा गएका आचार्य बेलायत फर्के पछि त्यस्तो घोषणा गर्न लागेका हुन्। “बेलायत एनआरएन अभियानको जन्म थलो पनि हो। त्यसैले आदरणीय अग्रजहरु तथा संसार भरि रहनु भएका शुभ चिन्तक तथा मित्रहरुसंग सरसल्लाह गरी एनआरएन अभियानलाई नयां गति र दिशा दिने अठोटका साथ मैले केन्द्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेको हुं। विगतमा झैँ यो अभियानमा पनि सबै अग्रजहरु, मित्रहरु र शुभचिन्तकहरुको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त छु,” आचार्यले भने। आगामी अक्टोबर महिनामा गैर आवासीय नेपाली संघको काठमाडौँमा हुने नवौं विश्व सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ।






