डा. केसीलाई अक्सिजन चढाइयो

काठमाडौं, १५ चैत्र । चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त विकृति अन्त्यको माग गर्दै आठ दिनदेखि आमरण अनसनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दा समेत सरकारले ठोस कदम चालेको छैन । यसअघि चौथो पटक अनसन बस्दा गरेका सहमति सरकारले कार्यान्वयन नगरेपछि केसी पाँचौं पटक अनसन बसेका हुन् ।
पूर्वाधार नपुगेका नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिन नहुने, स्पष्ट मेडिकल नीति बन्नुपर्ने, स्वास्थ्य सेवा र शिक्षा सहज र सुलभ हुनुपर्ने लगायतका दश बूँदे माग राखेर डा. केसी आठ दिनदेखि अनसनमा छन् । वार्ता टोली सदस्य स्वास्थ्यमन्त्री खगराज अधिकारी र सरकारका मुख्य सचिव लीलामणी पौडेल आज विहान डा. केसीलाइ भेट्न शिक्षण अस्पताल पुगेका थिए ।
मन्त्री अधिकारी र मूख्य सचिवसंगको बार्ता निष्कर्षबिहीन भएको छ । भोलिसम्ममा अर्को चरणको वार्ता गरी समाधान खोजिने बताइएको छ । डा.केसीले भने माग पुरा गर्न सरकारले ठोस कदम नचालेसम्म अनसन जारी राख्ने अडान दोहो¥याएका छन् । छातीमा दुखाई बढेपछि केसीलाई अक्सिजन दिन थालिएको छ भने नशामा इन्फेक्सन बढ्दै गएपछि स्लाइन चढाउन समेत समस्या हुने गरेको चिकित्सकले बताएका छन् । यसैबीच राष्ट्रिय जनमोर्चाले आज विज्ञप्ति निकालेर डा.गोविन्द केसीको माग संवोधन गर्न सरकारसँग माग गरेको छ ।