काठमाडौं । हिन्दू नारीहरुले हरितालिका तीज आज मनाउँदैछन् । हरेक बर्ष आज भाद्र शुक्ल तृतियाको दिन यो पर्व मनाइन्छ । हिन्दू नारीहरू निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्दछन् ।
तीजका अबसरमा काठमाडौंको पशुपतिनाथमा ठूलो मेला लागेको छ । देशभरका शिवालयमा समेत बिशेष घुइचो छ । तिजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।
भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा नहोस् भनेर पहिले ब्रत बसेको धार्मिक मान्यता छ । तपस्याबाट प्रसन्न भएर शिवले आफूलाई पतिका रुपमा स्वीकारेकाले आज पनि सुयोग्य बर पाउँ भनेर तीजको ब्रत बस्ने प्रचलन रहेको विश्वास गरिन्छ ।
विवाहित महिलाले भने पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै तीजमा ब्रत बस्ने गर्दछन् । भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म चार दिनसम्म यो पर्व मनाइन्छ ।






