डब्लिन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले संघभित्र नेतृत्व छनोटमा प्रजातान्त्रिक प्रक्रियालाई पर्वको रुपमा लिनुपर्ने बताएका छन् । एनआरएन आयरल्याण्डको सातौं साधारणसभालाई हिजो सोमबार सम्बोधन गर्दै आचार्यले संघमा नयां नेतृत्व छान्न चुनाव गर्ने प्रक्रियालाई नराम्रो ठान्न नहुने बताए ।
उनले एनआरएनभित्र हार जित हुंदैन भन्दै चुनावपछि सबै जनाले हातेमालो गरेर काम गर्ने गरेको उदाहरण पनि दिए । शनिबार टोरन्टोमा एनआरएन क्यानाडाको १२ औं साधारणसभामा भाग लिएपछि आचार्य हिथ्रो विमानस्थलबाट सिधै डब्लिन पुगेका थिए ।
सन् २००९ देखि लगातार नेपाल गएर नेपाली नागरिकताको निरन्तरताको लागि आफुले संघका अन्य अगुवासंग मिलेर काम गरिरहेको बताउंदै आचार्यले संविधानमा उल्लेखित गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई सकारात्मक रुपमा लिनुपर्ने बताए।
संसदको राज्य व्यवस्था समितिमा भएको छलफल पछि आशंका उब्जिएको बताउंदै सबै साथीहरुलाई कानून नबन्दासम्म प्रयास जारी राख्न, चनाखो रहन र लबी गरिरहन आग्रह पनि गरे। “गैरआवासीय नेपाली नागरिकता ऐनमा उल्लेखित सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार भनेको के हो भन्ने स्पष्ट पार्न जरुरी छ। त्यस्तै नेपाली नागरिकको रुपमा हामीसंग रहेको सम्पत्ती गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन जरुरी छ । भूतपूर्व गोर्खाहरुको लागि पनि विशेष व्यबस्था हुनुपर्छ,” उनले भने।
आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुबाट पनि निवेदन दिन सकिने व्यवस्था मिलाउनु पर्ने, तीन पुस्तालाइ मात्रै दिने प्रावधान खारेज गर्नुपर्ने र भाषाको अनिवार्यता हटाउन आवश्यक रहेको बताए । आचार्यले गैर आवासीय नेपाली नागरिकता संगै पासपोर्ट दिने व्यवस्था पनि हुनुपर्ने पनि बताए।
गैरआवासीय नेपालीहरुले नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन, जलश्रोत आदि क्षेत्रमा अरबौं रुपियाँ बराबरको लगानी गरिसकेको बताउंदै आचार्यले नेपालको विकास र रुपान्तरणका लागि बौद्धिक लगानी पनि त्यत्तिकै महत्वपूर्ण हुने बताए । कार्यक्रमको सभापतित्व एनआरएन आयरल्याण्ड अध्यक्ष नवराज कोइरालाले गरेका थिए। कार्यक्रममा पूर्व संरक्षकलगायत आयरल्याण्डस्थित नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो।
उनले संघभित्र एमआइएस प्रणालीको प्रयोगका सम्बन्धमा उत्पन्न विवादतर्फ इंगित गर्दै विश्वव्यापीकरणको जमानामा प्रविधिको प्रयोग गरिनु पर्ने तर त्यसको दुरुपयोग गर्न नहुने धारणा पनि राखे । आचार्यले आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुन गइरहेको एनआरएनएको विश्व सम्मेलनमा केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताइ सकेका छन् ।






