राति १२ बजेसम्म विमानस्थल नखुल्ने

काठमाडौं, २३ फागुन । टर्किस एयरलाइन्सको विमानलाई रनवेबाट पन्छाउन नसक्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल शनिबार पनि नखुल्ने भएको छ । साँझ ६ बजेसम्मका लागि बन्द गरिएको भनिएको विमानस्थल राति १२ बजेसम्मका लागि लम्ब्याइएको विमानस्थल कार्यालयका प्रवन्धक पूर्णप्रसाद चुडालले जानकारी दिए ।

विमानलाई तानेर पार्किङस्थल तर्फ लैजाने क्रम जारी छ ।

चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल खुलेपछि चौबिसै घण्टा सञ्चालन गरिने भएको छ ।

विमानस्थल अबरुद्ध हुँदा बढेको यात्रुको चापलाई व्यवस्थित गर्न चौबिसै घण्टा उडान-अवतरणको व्यवस्था मिलाउन लागिएको हो । शनिबार विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिश चन्द्रलाल सुमनले सहज नभएसम्म विमानस्थल चौबिसै घण्टा खुल्ला गरिने बताए ।

टर्किस एयरलाइन्सको एयरबस गत बुधबार धावनमार्गमा दुर्घटनाग्रस्त भएपछि विदेश उड्ने र विदेशबाट नेपाल आउने हजारौं यात्रुहरु विभिन्न विमानस्थलमा अलपत्र परेका छन् ।

विमान रनवेमा ल्याइयो

घाँसे मैदानमा रहेको जहाजलाई भारतीय तथा नेपाली टोलीले करिव सय मिटर तानेर धावनमार्गमा ल्याउन सफल भएका छन् । धावनमार्गमा ल्याइएको जहाजलाई दिउँसो दुई बजेसम्म पार्किङस्थल पुर्‍याइसक्ने महानिर्देशक सुमनले बताए पनि अझै पुर्‍याइएको छैन ।

जहाजको नोज गियर (अगाडिको चक्का) ड्यामेज भएको हुँदा ३० टनको ट्रेलरमा राखिएको छ भने ल्यान्डिङ गियर (पछाडिको चक्का) फेरिएको छ । जहाजलाई अगाडिबाट ट्रेलरले धकेलियो भने पछाडिबाट टोइङबारले तानेर धावनमार्गमा ल्याइएको बताइएको छ ।

धावनमार्गमा ल्याउने क्रममा ट्रेलरबाट जहाजको अगाडिको भाग तानिएपछि ब्लाडरमा हावा हालेर जहाजलाई मिलाउने काम गरिएको छ । ‘जहाज तान्ने क्रममा ट्रेलरबाट तानिएन, बेलुनिङ गरिरहनु परेन भने दिउँसोसम्म पार्किङस्थल पुर्‍याइसक्छौं’ सुमनले भने-‘त्यसपछि विमानस्थल स्वतः सञ्चालनमा आउने छ ।’

रातभरीको प्रयासपछि विहान ३ बजे जहाज उठाएको र पौने ९ बजे खाल्डोबाट निकाल्न सफल भएको सुमनले जानकारी दिए । जहाज तान्ने बेलामा भारतका १२ जना प्राविधिक, नेपाल आर्मीका ४ सय जवान, ३ सय ६० प्रहरी, प्राधिकरण, धावनमार्ग विस्तार गरिरहेको ठेकेदार कम्पनी लगायतका सय जनाको सहभागी भएको सुमनले जानकारी दिए ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रबन्धक पूर्णप्रसाद चुडालले अनलाइनखबरसँग भने, ‘सबैभन्दा कठीन काम सकिसकेका छौं, अब पार्किङस्थलसम्म पुर्‍याउन बाँकी छ ।’

रातभरीको प्रयासपछि विमानलाई काठको आधारमाथि ब्लाडर फुलाएर उठाएपछि धावनमार्गमा ल्याउन सफल भएको उनले सुनाए । शुक्रबारै जहाजलाई ब्लाडरमार्फत उठाइएको भए पनि उचाइ कम हुँदा चक्का फेर्न र ग्राभेल रोल गर्न मिलेको थिएन ।

विमानको नोज गियर (अगाडिको चक्का) शुक्रबार नै ३० टनको ट्रेलरमा राखिसकिएको थियो । दिउँसो दुई बजेदेखि विमानस्थल सञ्चालन गर्ने लक्ष्य राखेपनि जहाज तानेर पार्किङस्थल नपुर्‍याउँदासम्म विमानस्थल यति नै समयदेखि सञ्चालन हुन्छ भनेर भन्न नसकिने प्रबन्धक चुडालको भनाई छ ।

चुडालका अनुसार फलामको पाता र ग्राभेल राखेर बाटो मजबुत बनाइ जहाजलाई धावनमार्गमा ल्याइएको हो । जहाज सन्तुलनमा ल्याएर लगेज तथा कार्गो बाहिर निकालिएको छ । जहाजमा रहेको १७ टन इन्धन भने प्राविधिक कारणले ननिकालिएको प्रबन्धक चुडालले जानकारी दिए ।

गत बुधबार दुर्घटना भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अवतरण ठप्प छ । उडान बन्द भएपछि काठमाडौंबाट विदेश जाने र विदेशबाट काठमाडौं आउने यात्रुहरु बिभिन्न देशका एयरपोर्टमा अलपत्र परेका छन् ।

त्रिभुवन बिमानस्थल चल्ने निश्चित नहुँदा बिभिन्न देशबाट नेपाल उडान गर्ने एयरलाइन्सहरूले उडान स्थगित गरेका छन् । थाइ एयरले आजको नेपाल उडान नहुने निश्चित गरिसकेको छ ।

अन्य देशबाट आउने बिमानहरूले आजको उडान स्थगित भएको बताइसकेका छन् । बिमानस्थल संचालन भएमा मात्र बिमान कम्पनीहरूले उडानको नयाँ तालिका तोक्नेछन् । तर, चार दिनदेखि एयरपोर्टमा अलपत्र परेका यात्रुहरुका कारण तुरून्तै नेपाल आउने टिकट पाइहाल्न भने समस्या हुनसक्छ ।