लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले आफ्नो ३३ औं वार्षिकोत्सव भब्य रुपले मनाएको छ । सांस्कृतिक समारोहबीच सम्पन्न वार्षिकोत्सव ग्रीनफोर्ड टाउन हलमा जुलाई ६ तारिक शनिबार साझ सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले कोसेलीको बेलायतमा नेपाली कला, संस्कृति र भाषा संरक्षण, सम्वद्र्धन एवम् विकासमा अतुलनीय योगदान रहेको बताए । डा. सुवेदीले बेलायतमा पनि नेपाली कला संस्कृति जीवन्त राखेर समाजलाई जोगाउन कोसेलीले ठूलो योगदान गरेको भन्दै प्रशंसा गरे ।
कोसेली नेपाली सांस्कृतिक परिवार यूके अध्यक्ष शर्मिला सिंहले कोसेलीले स्थापनाकालदेखि नै नेपाली कला, संस्कृति र भाषाको संरक्षण, संवर्धन र उल्लेखित कुरा नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रयत्न गरिरहेको बताइन् । विदेशमा बसेर नेपाली मौलिक कला, संस्कृतिलाई जीवन्त राख्न ठूलो चुनौति सामना गर्नुपरिरहेको पनि सिंहले जानकारी दिइन् । ‘अनेक व्यवधानबीच पनि विभिन्न स्वरुपबाट हामी नेपाली पहिचानका लागि प्रयासरत छौं’ उनले भनिन् ।सबै उमेर समूहका बालबालिका र किशोर किशोरीहरुलाई गीत संगीत नृत्यको माध्यमबाट नेपाली कला संस्कृतिको केही अंश भावी पुस्तामा हस्तान्तरण गरिरहेको र आफूहरुको अभियानमा आगामी दिनमा पनि यस्तै सहयोग, सद्भाव एवं सक्रिय सहभागिता रहिरहने विश्वास अध्यक्ष सिंहको थियो ।
कार्यक्रममा दूतावासका द्वितिय सचिव लव सुवेदी कोसेलीका पूर्वअध्यक्षहरु वसन्त रायक्षेत्री,लगायतको सहभागिता थियो यसै गरि कोसेली संस्थापक अध्यक्ष मदन थापाले मन्तव्य दिनु भएको थियो।
औपचारिक कार्यक्रमको सञ्चालन कोसेली परिवारका पूर्व अध्यक्ष अमृत गुरुङले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष रुवी थापा र महासचिव खेमराज गौतमले गर्नु भएको थियो।
सचिब निश्चल दाहाल र रस्मिता दर्लामी द्वारा सम्युक्त रुपमा संचालित दोश्रो चरणको सांस्कृतिक कार्यक्रमका लागि संगीत संयोजन अमर लामा र डान्स कोअर्डिनेटरर कोरियोग्राफर गीता थापाले भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा कोसेली परिवार र बालबालिका गरि झण्डै ७५ जना कलाकारले विभिन्न गीत संगीत एवम् नृत्य प्रस्तुत गर्दा माहोल निकै तातेको थियो ।






