राष्ट्रिय लिगको खेल तालिका सार्वजनिक

काठमाडौं, ११ चैत्र । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । दोस्रो चरणका खेलपछि रोकिएको लिग चैत्र २० गतेदेखि पुनः जारी हुने एन्फाले जनाएको छ ।
यसपटक सार्वजनिक तालिकाअनुसार जेठ २४ गते थ्रीस्टार क्लब र मनाङ–मर्स्याङ्दीबीच काठमाडौंको दशरथ रंगशालामा खेल भएसँगै लिग सकिने छ । पहिलोपटक ‘होम एन्ड अवे’का आधारमा सुरु भएको लिगमा ‘ए’ डिभिजनका चार तथा मोफसलका ५ गरी ९ टिमले सहभागीता जनाएका छन् ।
‘ए’ डिभिजन क्लबका लागि दशरथ रंगशाला नै घरेलु मैदान मानिएको छ । दोस्रो चरणको खेलसम्म थ्रीस्टार र मनाङ शतप्रतिशत नतिजाका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।