लण्डन । बेलायतको रेडिङमा एक बौद्ध गुम्बा निर्माणको लक्ष्यसहित आउँदो जुलाई ७ तारिखमा एक च्यारिटी डिनर आयोजना हुने भएको छ ।
स्थानीय रिभरमेड लिजर सेन्टरमा हुने उक्त कार्यक्रममा प्रसिद्ध गायिका आनी छोइङले विशेष सांगीतिक प्रस्तुति दिने भएकी छन् । आयोजक बुद्धिस्ट गुम्बा रेडिङले आइतबार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारीबारे जानकारी गराएको छ ।
च्यारिटी डिनरका लागि गायिका आनी छोइङसंगै संगितकार न्यू बज्राचार्य, सारंगीवादक प्रिन्स नेपाली, बांसुरीवादक रमन महर्जन र पर्कुसनिस्ट सुन्दरकुमार महर्जन पनि आउने भएका छन् । सम्पुर्ण कलाकारहरुको भिसा प्रक्रिया टुंगिएको र उनीहरु जुलाई ४ मा बेलायत उत्रिने कार्यक्रम रहेको बताइएको छ ।
साँझ साढे ५ बजेदेखि सुरु हुने कार्यक्रममा गायिका आनीले बुद्ध धर्मसम्बन्धी प्रवचन समेत दिनेछिन् । कार्यक्रमको लागि टिकट मुल्य ५० पाउण्ड छ भने भिआईपी टिकटको १ सय पाउण्ड लाग्नेछ । कार्यक्रम आयोजना हुने भेन्यूमा १ हजार जना अट्ने क्षमता छ । अहिलेसम्म ७ सय जनाको टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ ।
टिकटको लागि https://www.eventbrite.co.uk मा गएर लिन सकिनेछ भने कार्यक्रमबारे अन्य जानकारी संस्थाको वेबसाइट https://buddhistgumba.co.uk मा उपलब्ध छ । कार्यक्रममा ईस्ट रेडिङका सांसद आलोक शर्मा, स्थानीय मेयर, काउन्सिल लिडरसहितका विशेष अतिथिहरु आमन्त्रित छन् ।
बुद्धिस्ट गुम्बा रेडिङले ५ देखि ७ लाख पाउण्डसम्मको लगानीमा रेडिङमा गुम्बा निर्माणको योजना बनाएको छ । यो अभियान सुरु भएको १ वर्षभित्रैमा १ लाख ६० हजार पाउण्ड संकलन भइसकेको छ । अन्य दाताहरुबाट समेत सहयोगको आश्वासन पाइसकेको भन्दै संस्थाका पदाधिकारीहरुले आउँदो २/३ वर्षभित्रै गुम्बा निर्माणको कार्य पूरा गर्ने लक्ष्य राखिएको बताएका छन् ।
पत्रकार सम्मेलनमा बुद्धिस्ट गुम्बा रेडिङ अध्यक्ष खेमबहादुर गुरुङ, अध्यक्ष महासचिव कमल गुरुङ, कोषाध्यक्ष मेजर बुद्धिबहादुर गुरुङ, ट्रस्टीहरु रजनी गुरुङ र उषा गुरुङ लगायतले कार्यक्रमको तयारीबारे विभिन्न जानकारी गराएका थिए ।
तस्विर : एसके गुरुङ






