पौडेल भारत प्रस्थान

ramchandraकठमाडौँ- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल चार दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

भारतीय योग गुरु रामदेबको निमन्त्रणामा पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन पौडेल सोमवार विहान जेट एयरलाइन्सको विमानमार्फत हरिद्वार प्रस्थान गरेका हुन्।

हरिद्वारमा हुने पतञ्जली योगपीठको कार्यक्रममा पौडेल दुई दिन बसेर पौडेल दिल्ली फर्किने छन्। दिल्ली फर्किए लगत्तै पौडेलले गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री शुष्मा स्वराज, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्च अधिकारीहरुसँग भेट्ने कार्यक्रम रहेको पौडेलका स्वकिय सचिव चिरन्जिवी अधिकारीले जानकारी दिए।

उनीहरुसँगको भेटमा पौडेलले भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाउने विषयमा पनि कुराकानी गर्ने अधिकारीले बताए ।

पौडेलले कंग्रेस आईका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेसको आगामी १३ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका पौडेलको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ। पौडेल आगमी २४ गते स्वदेश फर्किने कार्यक्रम छ।