सिन्धुपाल्चोक, ६ चैत । उचित क्षतीपूर्ति नपाएसम्म शव नबुझ्ने आफन्तको अडानपछि मेलम्ची खोपानी आयोजनाको सुरुङ भित्र दुर्घटनामा परी ज्यान गुमाएका एक मजदुरको शव उठ्न सकेको छैन ।
बुधबार मेलम्ची खानेपानी अन्तर्गतको ग्याल्थुम साईटमा पर्ने सुरुङभित्र काम गरिरहेका बेला गाडी दुर्घटना हुँदा सिन्धुली ४ हतपत्तेका ३० वर्षका सुरेशबहादुर सुनुवारको सुरुङ भित्रै ज्यान गएको थियो । बिगत ७ महिना देखि सुरुङ भित्र चालकको रुपमा काम गर्ने सुनारको ढुङगाको टुक्रा लोड गरेर ल्याउने क्रममा सुरुङ बाहिर निस्कन करिब ५ सय मिटर बाँकी हुँदा दुर्घटनामा परेर ज्यान गएको हो ।
मृतका आफन्तले मृतकका छोरा छोरीको उचित शिक्षाका लागी भन्दै ३० लाख रुपैया क्षतीपूर्ति मागेपनि कम्पनीले यति ठूलो रकम दिन नसक्ने बताएपछि बिहिबार दिउँसोदेखि राति अबेर सम्म प्रहरी, कम्पनी र मृतका आफन्तबीच वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन । शुक्रबार फेरी सहमतीका लागी त्रिपक्षीय बार्ता हुने भएको छ । मृतको शव वेवारिसे अबस्थामा मेलम्ची स्वास्थ्य केन्द्रमा राखिएको छ ।
क्षतिपूर्ति नपाए काम ठप्प पार्ने चेतावनी
साईटमा काम गर्ने क्रममा आफ्ना सहकर्मी मजदुरको मृत्यु भएको तीन दिन भईसक्दा कम्पनीले कुनै चासो नदिएको भन्दै ग्याल्थुम साईटमा काम गर्ने एक सय भन्दा बढी मजदुरले मेलम्ची खानेपानीको सम्पूर्ण काम ठप्प पार्ने तयारी गरिरहेका छन । उनीहरुले मृतकका परिवारलाई क्षतीपूर्तिसहित सीएमसीमा काम गर्ने सम्पुर्ण मजदुरहरुको बीमा हुनुपर्ने माग गरेका छन ।
प्रत्येक दिन मध्यान्ह १२ देखि १ बजे सम्म लन्च टाईम हुने गरेको भएपनि कम्पनिले कामदारलाई खाना खानसमेत नदिएर जबरजस्ती काम गर्न लगाउने गरेकाले पनि दुर्घटना हुने गरेको उनीहरुको आरोप छ । सुरुङ भित्र ब्लाष्ट गर्दा हानिकारक ग्याँसहरु निस्ने बेलामा पनि मजदुरहरुलाई जबरजस्ती काममा लगाएको गुनासो कामदारहरुको छ ।






