एजेन्सी- चिनियाँ राष्ट्रपति शी जिनपिंग बिहिबार उत्तर कोरियाली नेता किम जोंग उनसँग भेटघाट गर्दैछन् । शी जिनपिंग उत्तर कोरियाको दुई दिने भ्रमणमा छन् ।
शी जिनपिंग र किम जोंग उनबीच परमाणु निःशस्त्रीकरण र आर्थिक मुद्दामाथि कुराकानी हुनसक्ने बताइएको छ ।
दुईबीचको यो भेटघाट जापानमा हुन लागेको जी२० सम्मेलनको ठिक अघि हुँदैछ । जापानमा शी जिनपिंगको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
पछिल्ला वर्षमा शी जिनपिंग र किम जोंग उनबीच चार पटक भेटघाट भऐ । तर सन् २००५ पछि पहिलो पटक यी दुई राष्ट्राध्यक्ष उत्तर कोरियामा भेट्दैछन् ।
सन् २०१२ मा सत्ता सम्हालेपछि शी जिनपिंगको यो पहिलो उत्तर कोरिया भ्रमण हो ।
यसै वर्ष फेब्रुअरीमा भियतनामको राजधानी हनोईमा किम र ट्रम्पबीच भेटघाट भएको थियो । दुबैबीच परमाणु निःशस्त्रीकरणको विषयमा सहमति स्थापित हुनु थियो तर यो भेट बिना निष्कर्ष टुङ्गियो ।
विश्लेषकका अनुसार शी जिनपिंग हनोईमा के भएको थियो र कुरा अघि बढाउने बाटो अझै पनि बाँकी छ छैन भनेर जान्न चाहन्छन् ।
विश्लेषकले शी जिनपिंगले यसको जानकारी जापानमा ट्रम्पसँग छलफल गर्न सक्ने अनुमान राखेका छन् ।
उत्तर कोरियाका लागि चीन उसको प्रमुख ट्रेडिङ पार्टनर हो र निकै महत्वपूर्ण पनि । अहिले अन्तरराष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियाका लागि कूटनीतिक रुपमा चीन निकै महत्त्वपूर्ण छ ।
चीनलाई उत्तर कोरियासँग के चाहिन्छ ?
किम जोंग– उन र शी जिनपिंगको भेटघाटको कार्यक्रम एक हप्ताअघि मात्रै निश्चित भएको थियो । अमेरिकस्थित विश्लेषण साइट ३८ नर्थका प्रबन्ध सम्पादक जेनी टाउनका अनुसार दुई देशबीच कुटनीतिक सम्बन्धको स्थापनाको ७० औं वर्षगाँठ नजिकिँदै छ त्यसकारण यसमा यति धेरै चकित हुन आवश्यक नै छैन ।
उनी थप्छिन्, ‘जी२० सम्मेलनको ठिक अघिको यो भ्रमणका केही सांकेतिक अर्थ पनि हुनसक्छन् । चीनको मुख्य उद्देश्य उत्तर कोरियामा स्थायित्व र आर्थिक सहयोग गर्नु हो ।’
यो दुई देशबीच निकै अघिदेखि कम्युनिष्ट नेतृत्वका कारण मैत्रीपूर्ण सम्बन्ध थियो । यद्यपि, पछिल्लो एक दशकमा यी दुई देशबीचको सम्बन्धमा त्यतिबेला तनाव देखियो जब चीनले उत्तर कोरियाको परमाणु महत्वाकांक्षाको आलोचना गर्यो ।
चीनको पत्रिका चाइना डेलीले बुधबार लेखेको थियो, ‘यो भेटघाटका क्रममा दुई देशबीच केही महत्वपूर्ण परियोजनामा सहमती बन्नसक्छ ।’
यस्तै, उत्तर कोरियाको पत्रिका रोडोंग सिनमुनले आफ्नो पहिलो पृष्ठमा छापिएको सम्पादकीयमा शी जिनपिंग परमाणु कार्यक्रमको मुद्दामा कुराकानीका लागि तयार भएको भन्दै लेखेको छ । पत्रिकाले लेखेका छ, ‘कोरियाली प्रायद्वीपको मुद्दालाई सुल्झाउन सही दिशा अपनाउनका लागि चीन उत्तर कोरियालाई समर्थन गर्छ ।’
उत्तर कोरियालाई चीनसँग के चाहिन्छ ?
जेनी टाउन भन्छिन्, ‘सम्बन्ध थोरै चिसिएपनि उत्तर कोरिया आफ्नो पुरानो मित्र नजिक नै रहोस् भन्ने चाहन्छ ।’
उत्तर कोरियाको अर्थव्यवस्था अहिले अन्तरराष्ट्रिय प्रतिबन्धका कारण समस्यामा छ । चीनसँग उसको राम्रो व्यवसायिका सम्बन्ध छ र त्यसका लागि धेरै कुरा दाउमा लगाएको छ ।
तर यसलाई बराबरीको सम्बन्ध भन्न सकिँदैन किनभने चीनलाई उत्तर कोरियाको जति आवश्यकता छ त्यो भन्दा निकै धेरै उत्तर कोरियालाई चीन चाहिन्छ ।
उत्तर कोरिया मामलाका विश्लेषक पीटर वार्ड भन्छन्, ‘उत्तर कोरियाको धेरैजसो निर्यात चीनबाट हुन्छ । खनिज, माछा, कपडा र मजदुर ।’
पारम्परिक रुपमा पनि चीनले कोरियाली कारखानामा बनेको थुप्रै सामाना आयात गर्छ । तर अन्तरराष्ट्रिय प्रतिबन्धका कारण अहिले यो व्यापार रोकिएको छ ।
पिटर वार्ड भन्छन्, ‘संयुक्त राष्ट्रले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध फुकुवा गरोस् भन्ने चीनको चाहना छ । चीन उत्तर कोरियाको अर्थव्यवस्थाले गति लेओस् र उसलाई ब्यालेस्टिक मिसाइल वा परमाणु हतियारको परीक्षणको आवश्यकता महसुस नहोस् भन्ने चाहन्छ ।’






