काठमाडौं , २४ फागुन । एउटी नारीले चाहँदा के सम्भव छैन ? पतिको नाममात्र होइन, जात र धर्मसमेत परिवर्तन गराएर आफूमा समाहित गराउने शक्ति छ नारीमा ।
हिन्दू धर्मको पवित्र ग्रन्थ चण्डीमा नारीको शक्ति महिमा गाउँदै भनिएको छ-‘या देवी सर्वभूतेषुः शक्ति रुपेण संस्थिता ।’ अर्थात् महिला भनेका शक्तिका रुप हुन् ।
संविधानसभामा धेरै हिन्दू महिला सभासद छन् । उनीहरुले बिहेपछि आफ्नो जात र थर नै पतिमा समाहित गरेका छन् । तर, त्यही भीडमा एउटी मुस्लिम महिला सभासद छिन्, जसले आफ्ना ब्राह्मण पतिको जात र थरमात्रै होइन, नाम समेत परिवर्तन गराउन सफल भइन् । 
- रमेशकुमार रेग्मी र सभासद अनारकली मिया
मुस्लिम समुदायकी एमाले सभासद अनारकली मियाले परिवारसँग विद्रोह गरेर अन्तरजातीय बिहे गरिन् । प्रेम विवाह गरेकी उनले आफ्ना प्रेमी रमेशकुमार रेग्मीलाई पति बनाउँदै गर्दा इस्लाम धर्ममा समाहित गराइन् ।
नारी दिवसका सन्दर्भमा अनलाइनखबरकर्मीले अनारकलीको ‘नारी शक्ति’का बारेमा कुरा गर्न खोज्दा उनी जिल्ला परिषद र नारी दिवसका कार्यक्रममा सहभागी हुन गृहजिल्ला दाङ पुगेकी थिइन् ।
अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै सभासद अनारकलीले भनिन्-‘नारी शक्ति संसारकै सबैभन्दा ठूलो शक्ति हो, तर हामी नारीले आफूभित्रको शक्ति चिन्न सक्नुपर्छ । अधिकार मागेर पाउने कुरा होइन ।’
रमेश बने सलिम
अनारकली सल्यानबाट दाङ झरेर कलेज पढ्दापढ्दै रमेशकुमार रेग्मीसँग प्रेममा परिन् । भनिन्छ, प्रेममा जात, धर्म वा देशीय सीमाना हुँदैन । हिन्दू रमेश र मुस्लिम अनारकलीको प्रेम अन्ततः विवाहमा परिणत भयो ।
अनारकलीले बिहेअघि रमेशसँग प्रेमको परीक्षा लिइन् । यदि साँच्चिकै प्रेम गर्ने भए इस्लाम धर्म अपनाउनुपर्छ भन्ने अनारकलीको परीक्षामा रमेश पास भए ।
अहिले रमेश हिन्दूबाट मुस्लिम भएका छन् । उनको नाम थर रमेशकुमार रेग्मीबाट सलिम मियाँ भएको छ ।
रमेश एउटा त्यस्ता असल प्रेमी हुन् जसले प्रेमलाई जात, धर्म र सम्प्रदायभन्दा उच्च स्थानमा राखे । धर्म परिवर्तनभन्दा मानवीय प्रेम माथि छ भन्ने उनले व्यवहारबाटै देखाए । उनले लैङ्गिक विभेदलाई पनि चिरे र पत्नीमा आफूलाई समाहित गरे ।
दुई छोराछोरीको नाम थर पनि मुस्लिम रिवाज अनुसार नै राखिएको छ ।
‘मैले करकापले उहाँलाई परिवर्तन गराएको होइन, बरु मलाई असहज लागेको छ, उहाँले मलाई पाउन सहजरुपमा इस्लाम कबुल गर्नुभएको छ,’ अनारकली भन्छिन्, ‘उहाँ नियमित मस्जिदमा नमाज पढ्नुहुन्छ, बरु म त्यति जान्न ।’
महिलाको मात्रै किन परिवर्तन ?
महिलाले मात्रै बिहेपछि आफ्नो माइतीको थर र धर्म परिवर्तन गर्नुपर्छ भन्ने परम्परागत मान्यतालाई आफूहरुले भत्काउन खोजेको सभासद अनारकलीको दाबी छ ।
‘महिलामात्रै पुरुषको जातमा किन समाहित हुने ? नारी-पुरुष समान हो भने पुरुषले पनि थर र धर्म परिवर्तन गर्न सक्नुपर्यो नि,’ उनी भन्छिन्, ‘तर हामी हिन्दू-मुस्लिम दुबै परिवारका चाडपर्वमा सहजरुपमा सहभागी हुन्छौं, परिवारबाट शुरुमा बहिस्कार भए पनि अहिले स्वीकार्य भएका छौं ।’
विभेद हटाउने उपाय : अन्तरजातीय बिहे
कम्युनिष्ट नेतृ अनारकलीको विचारमा समाजमा नारीमाथिको विभेद हटाउन र महिला पुरुष समानताका लागि अन्तरजातीय विवाह एउटा राम्रो उपाय हुन सक्छ ।
सभासद अनारकली भन्छिन्-‘अन्तरजातीय विवाहले महिलामाथिको विभेद कम गर्न मद्दत पुग्छ, तर यसको शैली परिवर्तन हुनुपर्छ ।’
शैली परिवर्तन भन्नाले के गर्ने ? यो प्रश्नमा मुस्लिम सभासद मिया भन्छिन्-‘मुस्लिम महिलाले हिन्दू पुरुषसँग बिहे गर्दा पतिको धर्म परिवर्तन गर्ने, दलित महिलाले ब्राम्हण बाहुनसँग बिहे गरेमा दलित महिलाले बाहुन हुने होइन, पतिलाई दलित समुदायको सदस्य बनाउने, जसले गर्दा विभेद के हो भन्ने महसुस हुन्छ ।’
- दाङ जिल्ला परिषदलाई सम्वोधन गर्दै अनारकली
परिर्वतन आफैंबाट
सभासद मियाको विचारमा नारीहरु प्रेम, मातृत्व र शक्तिकी प्रतीक हुन् । यदि नारीले मातृत्वबाट सन्तानलाई संसार देखाउन सक्छिन् भने प्रेमको शक्तिबाट पुरुषवादी सोचलाई पराजित गर्न किन नसक्ने ?
अनारकली आफैं यो प्रश्नको एउटा जीवित जवाफ हुन् । नारी दिवस मनाइरहँदा अनारकलीको प्रेमकथा समानताको आन्दोलनमा उर्जा हुन सक्छ ।
नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य एवं मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी सभासद अनारकली भन्छिन्-‘परिवर्तन आफैंबाट शुरु गर्ने हो, अरुले ल्यादिएको परिवर्तन दीगो हुँदैन ।’







