लन्डन- १७ वर्षपछि बेलायत भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लन्डनमा गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले अभिनन्दन गरेको छ ।
एनआरएन युकेको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै अभिनन्दन गरेको हो । मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक समारोहमा उक्त अभिनन्दनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष कुल आचार्यले नेपालमा लगानी भित्र्याउन गैर आवासीय नेपाली संघले नेपाल सरकारसँग सहकार्य गरिरहेको स्मरण गरे । उनले हाल संसदमा विचाराधीन नागरिकता सम्बन्धि विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाई लचिलो बनाउन आग्रह गरे ।
आचार्यले ”एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसँग जोडी राख्न गैर आवासीय नेपाली नागरिकता ऐनलाई उदार र व्यवहारिक बनाउन आग्रह गरे ।
एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका समस्या समाधान गर्न बेलायत सरकारसँग उच्चस्तरीय वार्ता टोली बनाउन पहल गर्न, गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आएको हुँदा उनीहरुको नागरिकताको विषयलाई अलग ढंगले सम्बोधन गर्न आग्रह गरे । उनले गैरआवासीय नेपाली नागरिकता विदेशस्थित नेपाली दूतावासबाट वितरण हुने व्यवस्था मिलाउन पनि आग्रह गरे । फगामीले “भिजिट नेपाल २०२०” को प्रवर्द्धन गर्न जति सक्दो चाँडो नेपाल वायु सेवा निगमको लन्डन-काठमाडौँ सिधा उडानको व्यवस्था मिलाउन पनि माग गरे ।
कार्यक्रममा एनआरएन युकेका उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहा, पुनम गुरुङ, ललित न्यौपाने, सुशीला राई, महासचिव राजकुमार त्रिपाठी, एनआरएन आईसीसीका सल्लाहकार सुरेन्द्र श्रेष्ठ, प्रवक्ता रमेश सिंह सारंगकोटी, संगीता मरहट्टा, लगायतको सहभागिता थियो।
समारोहमा एनआरएन युकेले प्रधानमन्त्री लगायत भ्रमण टोलीका सम्पूर्ण सदस्यहरुलाई मायाको चिनो स्वरुप एनआरएन युकेको ब्याच लगाइदिएको थियो ।






