काठमान्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारबाहीलाई विषयगत रुपमा अनुगमन गर्न छायाँ सरकार गठन गरेको छ । कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकार गठन गरिएको सभापति देउवाका नीजि सचिव केशबराज जोशीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले सोमबार पार्टीका सांसदहरुलाई छुट्टाछुट्टै मन्त्राललय हेर्ने गरी संयोजक र अरु दुई जना सदस्य तोकेका हुन् । कांग्रेसले अर्थ मन्त्रालय हेर्ने गरि डा. मिनेन्द्र रिजाललाई संयोजक तोकिएको छ भने मीना पाण्डे र विनोद कुमार चौधरीलाई सदस्य बनाएको छ ।
त्यसैगरि गृह मन्त्रालयको संयोजकमा दिलेन्द्रप्रसाद बडू, सदस्यमा रमेशजंग रायमाझी र महेन्द्रकुमारी लिम्वूलाई तोकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजकमा गगन कुमार थापा र सदस्यमा उमेश श्रेष्ठ र नमिता कुमारी चौधरी रहेका छन् ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको संयोजकको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्र मन्त्रालयको संयोजकको जिम्मेवारी डा नारायण खड्कालाई दिइएको छ । सरकारको जस्तै कांग्रेसले छायाँ सरकारमा २१ जनालाई संयोजक र अन्य दुई सांसदलाई सदस्यको जिम्मेवारी दिएको छ ।






