पत्रकार महासंघ यूकेले गर्‍यो,मिडल्यान्डवासी नेपालीसँग बृहद-अन्तर्क्रिया

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले बेलायतको मिडल्याण्डबासी नेपालीसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । आइतबार लेस्टरको हेरिटेज इण्डियामा भएको कार्यक्रममा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिसहित ६० भन्दा बढीको उपस्थिति थियो ।

मिडल्याण्ड क्षेत्रमा क्रियाशिल साझा नेपाली समाज यूके, शान्ति नेपाली समाज बर्मिंगहम, सिर्जनशिल लेस्टर नेपाल यूके, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्ड, पिटरबरो नेपाली समाज पिटरबरो, नटिंगहम नेपाली समाज लगायतका संघसंस्थाका प्रतिनिधिहरु कार्यक्रममा सहभागी भएको थियो ।

कार्यक्रममा बेलायतमा नेपाली पत्रकारिताको अवस्था, समुदायको अपेक्षा तथा यस क्षेत्रको स्तर वृद्धिका लागि समुदायको तर्फबाट हुन सक्ने सहयोग तथा सहकार्यका विषयमा अन्तर्क्रिया भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले अन्तरक्रियामा समुदायका अग्रजहरुबाट व्यक्त सल्लाह र सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धता गरे ।

कार्यक्रमका संयोजक तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले कार्यक्रमको अवधारण पत्र प्रस्तुत गर्दै बेलायतमा क्रियाशिल नेपाली मिडिया तथा पत्रकारहरुको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरे ।

कार्यक्रममा शाखाका सदस्य एवम् साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले मिडल्याण्डमा झण्डै १० हजार नेपालीहरुको बसोबास रहेको र उनीहरु एकआपसमा एकताबद्ध तथा सामाजिक हिसाबले सक्रिय रहेको जानकारी गराए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले स्वागत मन्तव्य दिए । स्थानीय सिर्जनशील लेस्टर नेपालका सचिव लक्ष्मणप्रसाद गौतमले मिडल्याण्डवासीहरुको तर्फबाट उपस्थित पत्रकारहरुलाई स्वागत गरे । कार्यक्रमको पहिलो सत्र शाखाका महासचिव सञ्जयभक्त कँडेलले तथा दोस्रो सत्रको अन्तरक्रिया शाखाका पार्षद नृपेश उप्रेतीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा हाल बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल पनि शुभकामना दिएका थिए ।

अन्तरक्रियामा अधिवक्ता गोविन्द बेल्वासे, एनआरएन अभियन्ताहरु कमल भण्डारी, दयानिधि सापकोटा, कृष्ण ढकाल, रणबहादुर केसी , पशुपति पोख्रेल, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष लिला थापा, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्डका अध्यक्ष शिव खराल, सिर्जनशिल लेस्ट नेपालका अध्यक्ष बलराम चापागाईं, एनआरएन यूके सचिव तारानाथ भण्डारी, गल्कोट नेपाली समाज यूकेका अध्यक्ष राजु कंडेल, पत्रकारहरु डा मिलन ज्ञवाली र केशव भण्डारी, साझा नेपाली समाज यूकेका वरिष्ठ उपाध्यक्ष नारायण फुयाँल र कोषाध्यक्ष कृष्ण खरेल, ईञ्जिनियर गोपाल न्यौपानेलगायतले आफ्ना धारणा राखेका थिए ।

बेलायतको नेपाली समुदायलाई मुख्य प्राथमिकतामा राखेर सकारात्मक सन्देश दिने खालका समाचारहरुलाई महत्व दिन, खोजमुलक सामग्रीहरुलाई पनि समेट्न लगायतका विषयमा सुझाव दिएका थिए ।
उनीहरुले पत्रकारहरुको दक्षता अभिबृद्धिमा समेत ध्यान दिन जरुरी रहेको बताउंदै समुदायबाट आवश्यक हुने जस्तोसुकै सहयोगका लागि पनि आफुहरु तयार रहेको प्रतिवद्धता जनाए ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ यूके शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल, सल्लाहकारद्वय फडिन्द्र भट्टराई र विपिन निरौला, कार्यसमितिका सचिव शिव भण्डारी र सदस्य मञ्जु भण्डारी, शाखाका सदस्य टिका अधिकारी, जेनी भट्टराई,खुसि लिम्बु एनआरएनए यूके उप-महासचिव बिनय अधिकारी लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *