एडिलेडमा नेपाल फेस्टिभलको वृहत तयारी-दश हजार बढीले अवलोकन गर्ने

तक्दीर अधिकारी

एडिलेड (अष्ट्रेलिया)- नयाँ वर्षको अवसर पारेर आगामी अप्रिल १४ (नेपाली नयाँ वर्ष २०७६ वैशाख १ गते) एडिलेडमा हुने नेपाल फेस्टिबलको प्रचार प्रसार तीब्र पारिएको छ ।गैरआवासीय नेपाली संघ साउथ अस्ट्रेलियाले एडिलेडस्थित लाइट स्क्वायरमा नेपाल फेस्टिबलको आयोजना गरेको हो । फेस्टिबलमा नेपाली आर्ट, कल्चर, फेशन सहित विभिन्न खानाका परिकारहरु रहने एडिलेड नेपाल फेस्टिभलका संयोजक अशोक केसीले जानकारी दिए ।

कार्यक्रम बिहान १०:३० बजेबाट प्रारम्भ हुने छ भने फेस्टिबल साँझ ८ बजेसम्म चल्नेछ । यस वर्षको आकर्षण भनेको (नेपाली युबा -युवती ) मिस्टर एन्ड मिसेस नेपाल साउथ अस्ट्रेलिया रहेको छ ।

नेपाल फेस्टिभल कार्यक्रममा  साउथ अष्ट्रेलियाका प्रदेश प्रमुखका सहायक मन्त्री जिङ लि तथा माथिल्लो संसदका अध्यक्ष रसेल वाट्लीलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ। यसै गरि कार्यक्रममा नेपाली र भूटानी मूलका नेपालीहरु सहित स्थानीय १० हजार भन्दा बढीको सहभागिता रहने केसीले जानकारी दिए ।

नेपाल फेस्टिबललाई थप रोचक बनाउन संघले नेपालबाट ६ जना ख्यातिप्राप्त कलाकारहरुलाई समेत निमन्त्रणा गरेको छ । गायकहरु कर्ण दास, बद्रि पंगेनी, मार्कस दास, जीवन शर्मा, गायक तथा संगीतकार कालिप्रसाद बास्कोटा, अभिनेत्री बेनिसा हमाल कार्यक्रममा सहभागी हुन आउँदैछन् । कार्यक्रमलाई क्विन्स्फोर्ड कलेज तथा एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेसले संयुक्तरुपमा मुख्य प्रायोजन गरेका छन्।

एनआरएन न्यू साउथ वेल्सका राज्य परिषद् संयोजक नन्द गुरुङले अस्ट्रेलियाभरका नेपालीहरुलाई कार्यक्रममा सहभागी भएर मेला सफल बनाउन अपिल गरेका छन् ।यसअघि एडिलेडको संसद भवनमा नेपाली समूदायले दसैं मनाएका थिए ।

गैरआवासीय नेपाली संघले नेपाल पर्यटन बोर्डसँग समेत सहकार्य गरि साउथ अस्ट्रेलियामा पर्यटन प्रबद्र्धन गर्ने तयारी गरेको हो । नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गर्दै १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

स्की सम्मेलन पनि हुँदै– !!

यसैबीच नेपाल फेस्टिबलको पूर्वसन्ध्यामा युनिभर्सिटी अफ साउथ अस्ट्रेलियाको सिटी वेस्ट बिल्डिङमा स्की सम्मेलन हुने भएको छ । स्कीको पूर्णरुप भनेको स्कील, नलेज र इनोभेसन हो । बिहान ९ बजेदेखि ३ बजेसम्म हुने स्की सम्मेलनमा विदेशमा सिकेको सीप नेपालको विकासमा कसरी योगदान दिन सकिन्छ भन्नेतर्फ केन्द्रित हुने कार्यक्रम संयोजक राजुप्रसाद उपाध्यायले जानकारी दिए । कार्यक्रममा सहभागीहरु आफ्नो कार्यपत्रसहित उपस्थित हुने र पारित भएका आयोजना नेपाल सरकारलाई बुझाइने उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *