एनआरएनएमा कुल आचार्यलाई जिताउन काँग्रेसको निर्देशन, महामन्त्रीको संयोजकत्वमा खटाइयो टोली

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा कुल आचार्यको प्यानललाई जिताउन नेपाली काँग्रेसले निर्देशन दिएको छ ।

कांग्रेसले शुक्रबार कांग्रेस आबद्ध विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिलाई आचार्यको समूहलाई जिताउन निर्देशन दिएको हो । कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ९ जना नेताले विभिन्न क्षेत्र हेर्नेगरी ह्वीप कार्यान्वयनको जिम्मेवारी दिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पूर्णबहादुर खड्काको संयोजकत्वमा एनआरएनएमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन पार्टीले छुट्टै कमिटी समेत गठन गरेको छ ।

युरोप क्षेत्रको लागि सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य गगन थापा, एसिया क्षेत्रको लागि केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका क्षेत्रका लागि केन्द्रीय सदस्य मिलेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व र नेपाली जनसर्म्पक समितिका लागि केन्द्रीय सदस्य एवं नेपाली जनसर्म्पक समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराई र प्रवक्ता विश्वप्रकाश शर्मा र ओसियाना क्षेत्रका लागि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी दिएको छ ।

एनआरएनको १० औं महाधिवेशनको लागि आचार्य, बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । जसमा आचार्य र थापा नेपाली काँग्रेस निकट भएको बताइन्छ ।

माओवादीले कुन समूहलाई समर्थन गर्ने भनेर आधिकारिक रुपमा नभनेको भएपनि माओवादी निकट जनप्रगतिशील मञ्चले आचार्यलाई समर्थन गर्नु भन्दै पार्टीमा लबिङ गरिरहेको छ ।

एनआरएनए आईसीसीको सम्मेलन कात्तिक ६–८ देखि काठमाडौंमा हुँदैछ । यसपटकबाट प्रतिनिधिले विश्वभरबाट अनलाइनमार्फत मतदान गर्न पाउने भएका छन् ।

यता एनआरएनएमा राजनैतिक प्रभाव बढ्दै गएको भनेर चिन्ता समेत हुने गरेका छन् ।