पूर्वनेता मुक्त गर्न मालद्वीपद्वारा अस्वीकार

कोलम्बो, २ चैत । मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नसिदलाई मुक्त गर्न परेको विदेशी दबाबको प्रतिरोध गरिने सरकारले सोमबार दृढता व्यक्त गरेको छ । सरकारले पूर्व राष्ट्रपति नसिदलाई १३ वर्षको कारावासको सजाय तोकेपछि आफ्नो न्याय प्रणाली अन्तर्राष्ट्रिय स्तरभन्दा तलै रहेको स्वीकार गरेको छ ।
पूर्व शक्तिशाली व्यक्ति मौमुन अब्दुल गयुमका पुत्री तथा विदेशमन्त्री दुनिया मौमुनले श्रीलङ्कामा पत्रकारहरूलाई सरकारले अदालतले गरेको निर्णयमा हस्तक्षेप नगर्ने बताउनुभयो । उहाँले अदालत स्वतन्त्र भएको दाबी गर्नुभयो । अमेरिका, युरोपेली युनियन तथा भारत सबैले गत साता नसिदलाई काराबासको सजाय तोकेपछि चिन्ता व्यक्त गरेका छन् । नसिदले आफू राष्ट्रपति हुँदा सन् २०१२ मा एक न्यायाधीशलाई हिसातमा लिन आदेश दिनुभएको थियो र यो सजाय यसै विषयमा भएको थियो ।
विदेशमन्त्री मौमुनले स्वतन्त्र तथा निष्पक्ष सुनुवाइ भएको र निर्णय आएको बताउनुभयो । उहाँले राष्ट्रपति अब्दुल्लाह यामिनले सबै विश्वले त्यसलाई सम्मान गर्न आग्रह गरेको बताउनुभयो । राष्ट्रपति यामिन विदेशमन्त्री मौमुनका काका हुनुहुन्छ । नसिदको मालदिभियन डेमोक्र्याटिक पार्टीले अन्तर्राष्ट्रिय समुदाय तथा विशेष गरी छिमेकी भारतलाई राष्ट्रपति यामिनको सरकारमाथि उहाँलाई रिहा गर्न दबाब दिन आग्रह गरेको छ ।
नसिद मधुमासको द्वीप भनी परिचित मालद्वीपमा प्रथम प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति हुनुहन्छ । उहाँमाथि आतङ्कवाद नियन्त्रण कानुनअनुसार उक्त निर्णय भएको हो र त्यसले अनेकौँ विवाद सिर्जना गरेको छ र अनेकौँ प्रदर्शन गराएको छ । विदेशमन्त्री मौमुनले न्यायपालिकाको मामिलामा कुनै सम्झौता सम्भव नभएको बताउँदै फौजदारी अदालतका न्यायाधीश अशिक्षित, भ्रष्ट तथा राजनीतिक रूपमा एकपक्षीय भएको अस्वीकार गर्नुभयो ।
उहाँले आफूले भारतले मालद्वीपको सार्वभौमसत्ता तथा स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ भनेको र मित्रताको आधारमा चासोमा छलफल हुनसक्ने र वार्ता हुनसक्ने बताउनुभयो । उहाँले नसिदसँग पुनरावेदनको अधिकार भएको र भारत वा अन्य कुनै पनि मुलुकले कुनै एक विशेष विषयमा मालद्वीपलाई निर्देशन नदिने बताउनुभयो ।
उहाँले प्रतिपक्षी नेता, पूर्व राष्ट्रपति, प्रधानमन्त्रीलाई कारागारमा राख्ने मालद्वीप पहिलो मुलुक नभएको र त्यस्तो कुरा छिमेकी श्रीलङ्का, भारत तथा बङ्गलादेशमा भइसकेको बताउनुभयो ।