नेपाली नेताहरुले प्रजातन्त्रलाई उपहास बनाए: प्रा. सुवेदी

subediलन्डन । ‘ग्लोबल पोलिसी फोरम फर नेपाल’ का अध्यक्ष ,तथा बेलायतको लीड्स विश्वाविद्यलयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीले नेपालमा सबै प्रमुख दलका नेताहरुले प्रजातन्त्रलाई उपहास बनाएको आरोप लगाएका छन्। “नेपालमा शान्ति अझै धर्मराउंदो स्थितिमा छ । हतारमा र हचुआका आधारमा लेखिएको र देशभित्रकै प्रमुख राजनीतिक शक्तिहरुबीच सहमति कायम नगरिकनै जारी गरिएको संविधान कार्यान्वयनमा अहिले समस्या देखिएका छन्। कानुनको शासन कमजोर बनिरहेको छ र शैक्षिक संस्थाहरु, कूटनीतिक सेवा सहित निजामती सेवा, प्रहरी र न्यायालयसमेतमा गरिएको राजनीतिकरणले राज्यका निकायहरु प्रभावकारी भएका छैनन’, बिहीबार जारी एक विज्ञप्तिमा उनले भनेका छन्।

एक वक्तव्यमा प्रा. सुवेदीले चारजनाको ज्यान जानुका साथै अरु कैयौं घाइते हुनेगरी सोमबार सप्तरीमा प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली चलाएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले सबै पक्षलाई अत्यधिक संयम अपनाउन तथा हिंसात्मक गतिविधिमा सहभागी नहुन पनि आग्रह गरेका छन्।

आफ्नो वक्तव्यमा प्रा. सुवेदीले नेपाल सरकार तथा सबै प्रमुख दलहरुलाई नेपालको संविधानको पुनरावलोकन गर्न विशेषज्ञहरु सम्मिलित एक स्वतन्त्र आयोग गठन गर्न आव्हान पनि गरेका छन्। नेपाल सरकार तथा अन्य राजनीतिक दलहरुलाई नेपाली जनताको वृहत्तर हितकालागि काम गर्न, प्रजातन्त्रप्रति जनताको आस्था बहाल गर्न, कानुनको शासनलाई बलियो तुल्याउन र सबै मानिसलाई न्याय दिने एउटा समावेशी समाज निर्माण गर्न राज्यका निकायहरुमा व्यापक सुधार गर्न म आव्हान गर्दछु, उनले भनेका छन्।

“अहिले अगाडिको बाटो भनेको नेपाली समाजका विभिन्न भागबाट उठाइएका मुद्दाहरुलाई संबोधन गर्नेगरी संशोधनकालागि सुझाव दिन नेपाल सरकार र सबै राजनीतिक दलहरुले संविधानको पुनरावलोकनकालागि विशेषज्ञहरु रहेको एक स्वतन्त्र आयोग गठन गर्नु नै हो”, सुवेदीले आफ्नो वक्तव्यमा भनेका छन्। अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राध्यापक सुवेदीलाई हालै ब्रिटिश महारानीको मानार्थ कानुनी सल्लाहकार क्युसीको उपाधि दिइएको थियो।