तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी, पाण्डे भए मेयर

दाङ– तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ । प्रमुखमा घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत ल्याएर ३ हजार ९ सय ५४ मत अन्तरले विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार शेशुराम भण्डारीले ८ हजार ६ सय ९३ मत पाएका छन् ।

उपप्रमुखमा माया आचार्य २१ हजार ३७ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देविका नेपालीले २० हजार १ सय ८५ मत प्राप्त गरेकी छिन् भने माओवादी केन्द्रकी सिता ओलीले ९ हजार ५१ मत पाएकी छिन् ।

तुलसीपुरसहित दाङमा एमाले दुई उपमहानगरपालिका, एक नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा विजयी भएको छ । कांग्रेस तीन र माओवादी केन्द्र एक गाउँपालिकामा विजयी भएको छ ।