महतोलाई ठाकुरको जवाफ : मेरा असन्तुष्ट नेताहरूसँग कुरा गर्नुस्

काठमाडौँ- राजेन्द्र महतोले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलको संयोजक बनेको आज एक महिना ६ दिन भयो । तर यो अवधिमा पार्टीको कुनै बैठक बस्न सकेको छैन ।
संयोजक महतोले पटक पटक अध्यक्षमण्डलको बैठक बसाउन पहल गरे पनि विभिन्न कारणले टर्दै गइरहेको थियो ।

महतो अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरसँग नियमित सम्पर्कमा थिए । महतोले बैठकमा आइदिन ठाकुरलाई भने पनि उनले तपाईंहरू बस्नुस् न, जे निर्णय गर्नुहुन्छ, त्यसमा म हस्ताक्षर गरिदिन्छु भन्दै टार्दै आएका थिए ।

महतो पुस ६ गते पनि ठाकुरलाई भेट्न उनकै निवासमा पुगेका थिए । कहिल्यै पनि आफ्नो असन्तुष्टि नजनाउने ठाकुरले त्यो दिन महतो समक्ष आफ्ना असन्तुष्टि पोखेका थिए । उनले भनेका थिए, ‘मेरा खासै कुनै असन्तुष्टि छैन तर मसँग रहेका नेताहरू (पुराना तमलोपा) को असन्तुष्टि निवारण गर्नुस् । मेरा असन्तुष्ट नेताहरूसँग तपाईंले कुरा गर्नुस् ।’

महन्थ ठाकुरलाई राजपा नेपालको संयोजकबाट हटाएपछि पुराना तमलोपाका नेताहरू वृशेषचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल, सुरेन्द्र झा, डा. विजय सिंहलगायतका नेताहरूको असन्तुष्टि जनाउँदै आइरहेका थिए । उनीहरूले आफ्ना नेता महन्थ ठाकुरको अपमान गरेर संयोजकबाट हटाएको धारणा राख्दै आइरहेका थिए ।

महन्थ ठाकुरले आफ्ना नेताहरूसँग कुरा गर्न भनेपछि महतोले पुस ७ गते वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल, डा. विजय सिंह, गोविन्द चौधरी (रौतहट) लगायतका नेताहरूलाई बोलाएर छलफल गरेका थिए ।

छलफलमा यी नेताहरू समक्ष आफ्ना असन्तुष्टि पोखेका थिए । उनीहरूले पार्टीमा महन्थ ठाकुरको अपमान भएको कुरा राखेका थिए । छलफलमा सहभागी एक नेताका अनुसार जुन तरिकाबाट महन्थ ठाकुरलाई संयोजकबाट हटाइएको हो, त्यो एकदमै गलत हो । अध्यक्षमण्डलकै बैठकमा महाधिवेशनसम्म ठाकुरलाई संयोजक रहनदिने सर्वसम्मतिले निर्णय भएको थियो तर त्यस्तो के आपत पर्यो कि बीचमै बहुमतको निर्णयबाट उनलाई हटाइयो भनी ती नेताहरूले महतोसँग प्रश्न गरेका थिए ।

यो त्रुटिलाई कसरी सुधार गर्नुहुन्छ गर्नुस् भनी महतोलाई नेताहरूले दबाब दिएका थिए । अर्को कुरा छजना नेताले मात्र सबै निर्णय गरेर हुँदैन । अरू नेताहरूको पनि भूमिका हुनुपर्ने कुरा उनीहरूले राखेका थिए । अध्यक्षमण्डलमा रहेका छजना नेता शाक्तिशाली भएर नै पार्टीभित्र समस्या उत्पन्न भएको भन्दै उनीहरूले पार्टीमा रहेका अन्य नेताहरूलाई भूमिकाविहीन बनाएको भनी गुनासो गरेका थिए ।

त्यसको जवाफमा संयोजक महतोले भनेका थिए, ‘ठाकुरजी सबैका प्रिय हुनुहुन्छ, उहाँलाई म पनि सम्मान गर्छु र पार्टीमा देखिएका सबै समस्या समाधान गर्न पहल गर्छु, त्यसमा तपाईं सबैको सहयोगको आवश्यकता छ ।’

वृषेशचन्द लालसँग यस विषयमा जिज्ञासा राख्दा उनले भने, पार्टीका नेतृत्व तहले आफ्ना नेताहरूसँग छलफल गर्नु कुनै ठूलो कुरा होइन । यस्ता छलफलहरू पार्टीभित्र भइरहन्छन् ।’ पार्टीभित्रका एउटा नेताले अर्को नेतासँग भेट्नु कुन ठूलो कुरा हो र ? भन्दै उनले पार्टीको महाधिवेशन तथा सङ्गठन निर्माणलगायतका विषयमा छलफल भएको बताए ।

सोनललाई हटाउन हस्ताक्षर सङ्कलन

ठाकुर पक्षधर मानिएका जितेन्द्र सोनललाई प्रदेश २ को प्रदेशसभाको संसदीय दलको नेताबाट हटाउन राजेन्द्र महतो पक्षधर मानिएका नवलकिशोर साहले हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।
समाजिक विकास मन्त्रीसमेत रहेका नवलकिशोर साहले भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सोनललाई संसदीय दलको नेताबाट हटाएर आफू संसदीय दलको नता बन्नका लागि त्यस्तो अभियान चलाएका हुन् । राजपा नेपालका २५ जना प्रदेशसभा सदस्य रहेका छन् । त्यसमध्ये हालसम्म ८ जनाले मात्र हस्ताक्षर गरेको स्रोतले जनाएको छ ।

मन्त्री साहले आफ्नै निवासमा नेताहरूलाई बोलाएर हस्ताक्षर गर्न भनिरहेका छन् । त्यसमध्ये हालसम्म नवलकिशोर साह, सुरिता कुमारी साह, गौरीशङ्कर साह, नेत्र विक्रम साह, जानकीशरण साह, जैनुल राइन, डा. रिता यादव र अल्का झाले हस्ताक्षर गरिसकेका छन् । बबिता कुमारीले पनि हस्ताक्षर गरिसकेकी थिइन् तर उनले आफ्नो हस्ताक्षर फिर्ता लिएकी छिन् ।

बबिता कुमारी सहिद परिवारबाट प्रदेश सांसद बनेकी हुन् ।

स्रोतका अनुसार नीरा कुमारी साहलाई मन्त्री नवलकिशोर साहले बोलाए पनि उनी गइनन् । नीरा साह पनि राजेन्द्र महतो पक्षधर हुन् । उनका श्रीमान प्रमोद साह प्रतिनिधिसभाका सांसद हुन् । त्यस्तै, मन्त्री नवलकिशोरले अर्का सांसद एवम् मन्त्री रामनरेश राय यादवलाई पनि हस्तक्षरका लागि आग्रह गरेका छन् तर उनले आफू अहिले नगर्ने सबैले गरून् अनि मात्र गर्छु भन्दै टारेका छन् । रामनरेश राय यादव अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादव पक्षधर हुन् ।

राजेन्द्र महतो पक्षधर मानिएका मनिष सुमन, विक्की यादव, उपेन्द्र महतो, अञ्जु यादव लगायतले पनि हस्ताक्षर गरेको छैन । महन्थ ठाकुर पक्षका सुरेश मण्डललाई पनि हस्ताक्षर गरिदिनका लागि दबाब आएको थियो तर उनले गरेको छैन ।

मन्त्री नवलकिशोर साहले भने, त्यस्तो कुनै हस्ताक्षर सङ्कलन भएको छैन । यदि सोनललाई हटाउनु नै पर्यो भने संसदीय दलको बैठक बसेर हटाउन सक्छौँ, त्यसका लागि हस्ताक्षर सङ्कल गर्नै पर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *