दाहालले कोइरालालाई भने, संविधानसभा बैठक केही दिन स्थगित गर्नुस्

प्रमुख विपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षी दलहरुबीच वार्ताको विश्वसनीय वातावरण बनाउन संविधानसभाको विहीबारको बैठक केही दिनलाई स्थगित गर्न माग गरेका छन् । दाहालले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र नेकपा–एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विहीबार बिहान छुट्टाछुट्टै टेलिफोन गरी वार्तामा बस्ने वातावरणका लागि बैठक रोक्न आग्रह गरेका थिए ।
संविधान लेखनमा सहमति कायम गर्न दबाब दिने उद्दश्यले दाहाल निवास लाजिम्पाट पुगेका नागरिक समाजका अगुवाहरुको उपस्थितिमै दाहालले टेलिफोन गरेका थिए ।
पूर्वनिर्वाचन आयुक्त भोजराज पोखरेल, डा.सुन्दरमणि दीक्षित, चरण प्रसाइँ, सुवोध प्याकुरेल, वीरेन्द्र मिश्रलगायतका नागरिक अगुवाहरुले दलहरुलाई वार्तामा बस्न दबाब दिएका हुन् । नागरिक अगुवाहरुसँगको भेटमा दाहालले विपक्षी मोर्चा पनि प्रक्रियामा गएर संविधान जारी गर्न राजी रहेको तर सत्तापक्षले एकपक्षीय ढंगले संविधान लेखन प्रक्रिया अगाडि बढाएकाले संवाद समेत हुन नसकेको गुनासो गरेका थिए ।