काठमाडौं, २९ फाल्गुन । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा भइरहेको विश्वकप क्रिकेटबाट बाहिरिइसकेको इङ्गल्याण्डले आफ्नो अन्तिम प्रतिष्ठित खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएको छ । अष्ट्रेलियाको सिड्नीमा वर्षाले प्रभावित खेलमा अफगानिस्तानले पहिले ब्याटिङ्ग गर्दै ३६ ओभर २ बलमा ७ विकेट गुमाएर एक सय ११ रन बनायो ।
डकवर्थ लेविस नियम अनुसार २५ ओभरमा एक सय एक रनको चुनौती पाएको इङ्गल्याण्डले १८ ओभर १ बलमा एक विकेट गुमाएर जित हात पार्यो । योसंगै जारी विश्वकप टुङ्ग्याएको इङ्गल्याण्डले दुई खेल जितेर पाँचौं स्थानमै चित्त बुझायो । समूह ए बाट सत्प्रतिशत नतिजाका साथ न्यूजिल्याण्ड समूह विजेता बन्दै क्वार्टरफाइनल पुग्दा श्रीलंका, अष्ट्रेलिया र बंगलादेश पनि अन्तिम आठमा पुगेका छन् ।
सत्प्रतिशत नतिजा ल्याउने क्रममा न्यूजिल्याण्डले बंगलादेशलाई ३ विकेटले हरायो । ह्यामिल्टनमा भएको खेलमा पहिले ब्याटिङ्ग गरेको बंगलादेशले ७ विकेटको क्षतिमा दुई सय ८८ रन बनायो । ममुल्लाहले आकर्षक ब्याटिङ्ग गर्ने क्रममा एक सय २३ बलमा अविजित रहँदै एक सय २८ रन जोडे ।
जवाफमा न्यूजिल्याण्डले मार्टिन गुप्तिलको एक सय पाँच रनको मद्धतले ७ बल खेल्न बाँकी छँदै ७ विकेटको क्षतिमा विजय हासिल गर्यो । शकिब अल हसनले ५५ रन खर्चेर ४ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । यो हारले भने बंगलादेश चौथो स्थानमै समेटिएको छ । एक खेल पनि नजितेको स्कटल्याण्डले अन्तिम खेलमा शनिबार अष्ट्रेलियासंग खेल्दैछ ।
खेल होबार्टमा बिहान सवा ९ बजे सुरु हुनेछ । यो खेल जिते अष्ट्रे्लिया दोस्रो स्थान ओगट्दै अन्तिम आठमा पुग्नेछ । शनिबारको अर्को खेलमा भारतले जिम्बावेसंग खेल्दैछ । खेल बिहान पौने ७ बजे न्यूजिल्याण्डको अक्ल्याण्डमा हुँदैछ । अपराजित भारत समूह विजेता भइसकेको छ भने एक खेलमात्र जितेको जिम्बावे सान्त्वना जितको प्रयासमा छ ।
अफगानिस्तानमाथि इङ्गल्याण्डको सान्त्वना जित






