विश्वकप उपाधि नजिती सन्यास लिन्नः मेसी

मस्को ,लियोनल मेसीले आफू विश्वकपको उपाधि जितेर मात्र सन्यास लिने बताएका छन्।

रसियामा जारी विश्वकपमा खराब लयमा रहेको अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले विश्वकप फुटबलमा समूह चरणको अन्तिम खेल अगाडि त्यस्तो चाहाना ब्यक्त गरेको ‘द मिरर’ मा समाचार छापिएको छ।

आफू विश्वकपको उपाधि उचालेको कल्पना गरेरै यो स्थानमा आइपुगेको भन्दै उनले भनेका छन्,‘विश्वकपको उपाधि म र अर्जेन्टिनाका लाखौं फुटबल प्रेमीका लागि बिशेष हुनेछ।’

साचारमा मेसीले खराब लयमा रहेको टिमले अब लय समात्ने दाबीसमत गरेका छन्।

‘मैले प्राय सबै प्रमुख उपाधी जितिसकेको छु र विश्वकप जित्न चाहान्छु। मलाई विश्वकप उपाधि नजिती सन्यास लिने चाहना छैन’, उनले मिररसँग भनेका छन्।

विश्वकपको पहिलो खेलमा आईसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसीयासँग अप्रत्याशित रूपमा ३-०ले पराजित भएपछि दोस्रो चरण प्रवेशको सम्भावना क्षीण बनेको हो। अब अन्तिम खेलमा  नाईजेरियालाई हराउनै पर्ने दबाबमा रहेको अर्जेन्टिनाका लागि अन्य खेलले पनि नतिजा फरक पार्न सक्छ।

नाईजेरियासँग जितेर पनि आईसल्याण्डले क्रोएसियालाई जितको अन्तर ठूलो राखेमा अर्जेन्टिना विश्वकपबाट बाहिरिने छ।

सम्भवतः अन्तिम विश्वकप खेलिरहेका मेसीका लागि यो अन्तिम मौका हुनेछ। ३१ वर्षिय मेस्सीले के उनको सपना पुरा गर्न पाउँलान् त्यो त अब भोलिको खेलले निर्धारण गर्नेछ।

मेसीका प्रमुख प्रतिस्पर्धी मानिएका पोर्चुगलका कप्तान  क्रिष्टियानो रोनाल्डोले विश्वकपमा ह्याट्रिकसहित २ खेलमा ४ गोल गर्दै राम्रो सुरुवात गरिसकेका छन्।

सन् २०१६ मा पोर्चुगललाई युरो कपको उपाधिसमेत जिताएका रोनाल्डो लयमा देखिएका छन्।

उता कोपा अमेरिका फाईनलमा चिलीबिरुद्ध पेनाल्टी मिस गरेका मेसीको टिमले उपविजेतामा चित्त बुझाउनु परेको थियो। एजेन्सी