काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आजका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बैठक बस्ने बैठकमा महासमिति बैठक, नेविसंघको समयावधि लगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
नेपाली काँग्रेसको भातृ संगठन नेविसंघको निर्वाचित कार्यसमिति विधानअनुरुप आइतबार स्वत विघटन हुने भएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने प्रवक्ता शर्माको भनाई छ ।
नैनसिंह महर नेतृत्वका कार्यसमितिले समयमा महाधिवेशन गराउन नसक्दा सो कार्यसमिति विघटनको संघारमा पुगेको हो ।
महर नेतृत्वको संघको वर्तमान कार्यसमितिको म्याद गत भदौ २ गते नै सकिएको थियो । तर, पार्टीको निर्देशक समितिले गत भदौमा तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटसहित समय थप गरेको थियो ।
प्रवक्ता शर्माका अनुसार बैठकले नेविसंघको विधान पारित गरी १२ औं महाधिवेशनको मिति तय गर्न आवश्यक निर्णय लिने छ ।
साथै महासमिति बैठक र समसामयीक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए ।






