गैरआवासीय नेपाली संघ एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन तथा प्रथम महिला सम्मेलन आगामी डिसेम्बर ८ र ९ तारिखका दिन हङकङमा हुँदैछ । सम्मेलनको जिम्मेवारी पाएको हङकङले आफनो तयारीलाई तीब्र पारेको छ । सम्मेलन तयारीकै लागि क्षेत्रीय समिति गठन गरिएको छ । त्यसैमध्येका समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) सँग सम्मेलनको विषयमा केन्द्रित भएर छोटो कुराकानी गरेका छौ ।
हङकङमा हुने एनआरएनको एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन तथा प्रथम महिला सम्मेलनको तयारी कहाँ पुग्यो ?
गैर आवासीय नेपाली संघ एसिया प्याशिफिकको छैठौ क्षेत्रिय सम्मेलन तथा प्रथम महिला एसिया प्यासिफिकको तयारी तीब्र रुपमा भइरहेको छ । सम्मेलनका लागि गर्नुपर्ने सम्पूर्ण तयारीका विषयमा समग्रमा भन्नुपर्दा ७० प्रतिशत काम सम्पन्न गरिसकेका छौ । सम्मेलन तथा बैठक हङकङस्थित हार्वर ग्राण्ड कौलँन होटलमा गर्ने तय गरिसकेका छौ भने अतिथिदेखि सम्पूर्ण तयारी भइरहेको छ ।
सम्मेलनको तयारीका लागि हङकङ एक्लै कि क्षेत्रीयस्तरबाट पनि तयारी भइरहेको छ ?
बैठक तयारीका लागि क्षेत्रीय संयोजक किरण थापा, सहसंयोजकद्वय विनोद कुँवर र पारसमणी पोख्रेल र प्रत्येक देशका अध्यक्षसहितको समिति गठन गरिएको थियो । आयोजकको नाताले एनआरएनए हङकङ अर्थात मेरो अध्यक्षमा बैठक आयोजक समितिको सचिवको रुपमा काम गरिहेको छु । बैठकलाई सफलताका साथ सम्पन्न गर्न स्थानीय रुपमा अध्यक्षको संयोजकत्वमा कार्यसमिति, संरक्षक समिति, सल्लाहकार समितिलगायत सम्मिलित एक सय एघार जनाको तयारी सहयोग समितिको गठन गरिएअनुसार सोही अनुसार तयारी गरिरहेका छौ ।
सम्मेलनको मुख्य एजेन्डा के कस्तो हुनेछ ?
‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दाहित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ सम्मेलनको नारा तय भइसकेको छ । सोही नारा नै सम्मेलनको मुख्य एजेन्डा रहनेछ । सोही विषयमा केन्द्रित भएर छलफल अगाडि बढाउनेछौ ।
बैठकमा कतीवटा एनसिसी र कतीको संख्यामा सहभागिता रहने अनुमान गर्नुभएको छ ?
सम्मेलनमा चीन, हङकङ, जापान, मकाउ, मलेशिया, म्यान्मार, फिलिपिन्स, साउथ कोरिया, सिङ्गापुर, थाइल्याण्डलगायत गरि २० भन्दा बढी मुलुकबाट करि दुई सयजनाको सहभागिता रहनेछ ।
सम्मेलनको कार्यक्रम तालिका तय गरिसक्नु भयो ?
सम्मेलनको पहिलो दिन प्रतिनिधि दर्तालगायतका कार्यालय सम्बन्धी कार्यक्रम रहने छ भने दोश्रो दिन बैठक सम्पन्न गरिने कार्यक्रम रहेको छ । बैठकको उद्घाटन नेपालको मन्त्रीबाट हुनेछ ।
अन्तमा के भन्न चाहानुहुन्छ ?
सम्मेलनको लागि आवश्यक सम्पूर्ण तयारी भइरहेको छ,जसका लागि सिंगो समितिसँगै एनआरएन हङकङको टोली लागिपरेका छौ । सम्मेलनको लागि हङकङमा अतिथि, प्रतिनिधिलगायत सम्पूर्णमा हार्दिक स्वागत गर्न हामी आत्तुर छौ ।






