पाँचथर, २८ फागुन – सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले सरकारले देखाएको धैर्यतालाई कमजोरी नठान्न विपक्षी मोर्चालाई चेतावनी दिएका छन् । निश्चित समयसम्म मात्र पर्खन सम्भव हुने भन्दै उनले वार्ता र सहमतिको नाममा लामो समय विपक्षी मोर्चालाई पर्खिन नसक्ने स्पष्ट पारे ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाईबाट मात्रै संविधान जारी गर्ने आफुहरुको उद्देश्य भएको भए अहिलेसम्म कसैलाई पनि नपर्खिने पनि बताए । आफुहरुको लक्ष्य सबैलाई समेटेर संविधान जारी गर्ने भएको दावी गर्दै रिजालले सकेसम्म सबैको अभिमतलाइ कदर गरेरै संविधान जारी हुने बताए ।
संविधान सभाको संख्या जनमतको प्रतिनिधित्व भएकोले त्यसलाई निर्जिव अंगगणित नठान्न समेत विपक्षी मोर्चालाई रिजालले आग्रह गरे । फरक प्रसंगमा रिजालले आफु आम सञ्चार नीति ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिए । ६० बर्ष अगाडिको दक्षिण कोरिया र नेपालको आर्थिक स्थिति उस्तै रहेको भन्दै रिजालले मुलुकलाइ समृद्ध बनाउन सबै एक ठाउँमा उभिनुपर्ने बताए ।






