काठमाडौं, फागुन २८ । जारी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले युनाइटेड अबर इमिरेटस (युएई)माथि १ सय ४६ रनको जित हासिल गरेको छ । बिहीबार विलिङ्गटनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदैं ३४१ रन जोडेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको युएई ४७.३ ओभरमा अलआउट हुँदैं १९५ रनमा समेटियो । उसका लागि स्वप्निल पटेलले अविजित सर्वाधिक ५७ रन जोडे । समीम अनवरले २९ रन जोडे पनि अन्य ब्याटसम्यानहरु चल्न सकेनन ।
युएईको ब्याटिङ लाइन धरासायी पार्ने क्रममा दक्षिण अफ्रिकाका फिलान्दर, मने मोर्कल र एबी डेभिलियर्सले २/२ विकेट लिए । यसैगरी, इमरान ताहिर डेल स्टेयन र जेपी डुमिनीका नाममा १/१ विकेट रहृयो ।
यसअघि पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि एबी डेभिलियर्सले सर्वाधिक ९९ रन जोडे । ८२ बलको सामना गरेका उनले ६ चौका र ४ छक्का प्रहार गरे ।
यसैगरी एफ बेहारडिनले अविजित ६४ रन जोडे भने डेभिड मिलरले ४९ रन बनाए । युएईका मोहम्मद नभिदले सर्वाधिक ३ विकेट लिए । यसैगरी, कमरान शाहजाद, अमजाद जावेद र मोहम्मद टाउकिरले १/१ विकेट लिए ।






