‘सयपत्री नेपाली कल्चरल समुह यूके’ को कार्यक्रममा गायक टंक बुढाथोकीले नचाउने

लण्डन । बेलायतमा विभिन्न नेपाली संघसंस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा आकर्षक नेपाली नृत्यहरु प्रस्तुत गरेर मन जित्दै आएको छ ‘सयपत्री नेपाली कल्चरल समुह यूके’ले ।

सोहि समुहले आउंदो सेप्टेम्बर महिनाको ८ तारिख ‘सयपत्री सांझ’ शीर्षकमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

अल्डरसटको द प्यालेसमा आयोजना हुने कार्यक्रममा प्रमुख आकर्षण रहनेछन् अहिलेका चर्चित गायक टंक बुढाथोकी । बेलायतको भिसा बुझिसकेका गायक बुढाथोकी सेप्टेम्बर ६ मा लण्डन उत्रिनेछन् ।

सयपत्री सांझमा बेलायतमै रहेका गायक मनसुदन थापाले पनि प्रस्तुति गर्नेछन् । त्यसबाहेक सयपत्री कल्चरल समुहका विभिन्न आकर्षक प्रस्तुति कार्यक्रममा रहनेछन् । सयपत्री ब्याण्डले समेत विशेष सांगीतिक प्रस्तुति दिनेछ ।

कार्यक्रममा विशुद्ध नेपाली सांस्कृतिक प्रस्तुतिहरु पस्किने जानकारी आयोजक सयपत्री कल्चरल समुहका अध्यक्ष डम्बर सिंहले दिए । ‘सधैजस्तो हाम्रो यो कार्यक्रममा पनि विशुद्ध र मौलिक नेपाली सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् । नेपालको विभिन्न जातजाति, समुदाय तथा पूर्वदेखि पश्चिमसम्म सबैको कला, संस्कृतिको प्रतिनिधित्व गर्ने प्रस्तुतिहरु देखाइनेछ’ , अध्यक्ष सिंहले भने ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहने कार्यक्रममा स्थानीय काउन्सिलरहरु, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीका रुपमा निम्त्याइएको छ ।

सांझ ६ बजेदेखि मध्यरातसम्म कार्यक्रम चल्नेछ । कार्यक्रममा सहभागिताको लागि १५ पाउण्डको टिकट राखिएको छ । १० वर्ष मुनिका बालबालिकालाई भने निशुल्क छ ।

अल्डरसटको यो कार्यक्रमपछि लण्डनमा समेत एक कार्यक्रम गर्ने योजना सयपत्री कल्चर समुहले बनाएको छ ।

मौलिक नेपाली सांस्कृतिक नृत्यहरुको प्रस्तुतिमार्फत बेलायतमा लोकप्रिय बनेको छ सयपत्री नेपाली कल्चरल समुह यूके । नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रबर्द्धन  गर्ने लक्ष्यसहित सन् २००६ मा स्थापित भएको थियो सयपत्री समुह ।

बेलायतमा आयोजना हुने विभिन्न संघसंस्थाका कार्यक्रमहरुमा पनि आमन्त्रित कलाकारका रुपमा सयपत्री कल्चरल समुहका आकर्षक नृत्यहरु बारम्बार देख्न पाइन्छ । विभिन्न नेपाली जातजातिका मौलिक भेषभूषा र गरगहनाहरु समेत जुटाएर बेलायतमा उपलब्ध गराएको छ सयपत्रीले । बेलायतमा जन्मे, हुर्केका ससाना नेपाली बालबालिकालाई मौलिक नेपाली नृत्यहरु सिकाउने कक्षा समेत सयपत्रीले सञ्चालन गर्दै आएको छ ।

बेलायतमा नेपाली कला र संस्कृतिको प्रबद्र्धनका लागि क्रियाशिल यो सांस्कृतिक समुहले बेलाबेलामा नेपाल र बेलायतमा पनि विभिन्न सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै आएको छ । भुकम्पका बेला पीडितहरुका लागि सहयोग संकलन गरेर पठाएको सयपत्रीले विभिन्न स्कुल तथा गुठी संस्थालाई पनि सहयोग गरेको छ । बेलायतमै अंग्रेजी नजान्ने नेपाली महिलाहरुको लागि निशुल्क अंग्रेजी भाषा कक्षा समेत सयपत्रीले सञ्चालन गरेको थियोे ।