पकाएर खान नसक्ने पुरुष कसरी महान ?

काठमाडौं, २४ फागुन, । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले श्रीमती घरमा नहुँदा एक माना चामल पनि पकाएर खान नसक्ने पुरुषलाई महान भन्ने गरिएको भन्दै पुरुष प्रधान समाजको आलोचना गरेकी छन् ।

फाइल तस्वीर

एक सय पाँचौं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आईतबार जिफन्टको छैठौं राष्ट्रिय श्रमिक महिला सम्मेलन उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेपाली समाजको आलोचना गरेकी हुन् ।

भण्डारीले प्रश्न गरिन्, ‘आधा केजीको कुचो-खरेटो उचाल्न नसक्ने र सबै तयारी अवस्थामा रहेको भान्छामा भात पकाएर खान नसक्ने पुरुषहरु महान् तर ब्रहृमाण्डको सृष्टिकर्ता महिलाहरु चाहिँ परआश्रित ?’

हस्यौली पारामा प्रस्तुत भएकी भण्डारीले श्रीमतीको मृत्यु भएको दश दिन नपुग्दै पुरुषहरु जोडी खोज्दै हिँड्ने तर, महिलाहरुले आजीवन मृत श्रीमानकै नाम जपेर बस्नुपर्ने समाजलाई परिवर्तन गर्नुपर्ने बताइन् ।

राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री हुने योग्यता नेपाली महिलाहरुमा रहेको भन्दै उनले ३३ प्रतिशत आरक्षणलाई बढाएर अब ५० प्रतिशत बनाउनुपर्ने बताइन् । आरक्षण मागेर मात्र नहुने भन्दै उनले त्यसका लागि महिलाहरुले आन्दोलनलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा जिफन्ट अध्यक्ष विष्णु रिमालले लैङ्गिक हिंसा अन्त्य गर्ने, काम र जीवनलाई सन्तुलित गर्ने, ३३ प्रतिशत महिला सहभागिता ग्यारेन्टी गर्ने तथा कार्यक्षेत्रमा ५ प्रतिशत महिला सदस्यता वृद्धि गर्ने जिफन्टले लक्ष्य बनाएको जानकारी दिए ।