नीति निर्माणमा महिलाको सहभागिता दयनीय

सरकार र पार्टी दुबैतिर ३० प्रतिशत भन्दा कम सहभागिता
काठमाडौं, २४ फागुन। जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगटेका नेपाल महिलाहरुको उपस्थित नीति निर्माण तहमा दयनीय देखिएको छ ।

women's-participationसंयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चाउयुक्तको कार्यालयलाई बुझाउन नेपालले तयार पारेको प्रतिवेदन अनुसार नेपालका निजामति कर्मचारीहरुमा महिला सहभागिता १६.८३ प्रतिशतमात्रै देखाइएको छ ।

नेपाली सेनामा त झन् महिलाको संख्या ३.५५ प्रतिशत मात्र छ । सशस्त्र प्रहरीमा महिला सहभागिता ५ प्रतिशत छ ।

संविधानसभामा महिलाको संख्या २९ प्रतिशत छ भने २४ सदस्यीय मन्त्रिपरिषदमा महिलाको सहभागिता १२.५ प्रतिशत छ ।

महिला सहभागिता ३३ प्रतिशत र ५० प्रतिशतको कुरा गर्ने प्रमुख राजनीतिक दलहरुको केन्द्रीय समितिमा महिला सहभागिता ३० प्रतिशत पनि पुगेको छैन ।

महिला आयोगको सहभागितामा नेपाल सरकारले तयार पारेको रिपोर्ट अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा २४.२८ प्रतिशत महिला छन् । त्यस्तै नेकपा एमालेको केन्द्रीय कमिटीमा १७.२ प्रतिशत र एमाओवादीको केन्द्रीय कमिटीमा १४.३३ प्रतिशतमात्रै महिला सहभागिता छ ।

यद्यपि विगतको भन्दा महिला सहभागिताको सूचकांकमा सकारात्मक सुधार आएको दाबी सरकारी अधिकारीहरुले गरेका छन् ।