लण्डन । बेलायतस्थित सपन इन्टरटेनमेन्ट यूकेले आयोजना गर्ने तेस्रो यूके डान्स प्रतियोगिता २०१८ आगामी अक्टोबर १४ तारिख आयोजना हुने भएको छ । प्रतियोगितालाई विगतका वर्षहरुमा भन्दा झनै बढि व्यापक र गुणस्तरीय बनाउन यतिबेला निर्देशक सपनकुमार राई र कार्यक्रम संयोजक निशा गुरुङ तयारीमा जुटेका छन् । निर्देशक राई र संयोजक गुरुङले विहिबार सांझ लण्डनमा एक प्रेस मिट आयोजना गर्दै यूके डान्स अफको तेस्रो संस्करणको फाइनल अल्डरसटको प्रिन्सेस हलमा तय भएको जनाए ।
‘यूके डान्स अफका विगतका दुई वटा संस्करणको सफलतापछि अहिले हामी ठूलो उत्साहका साथ तेस्रो वर्षका लागि तयारीमा जुटेका छौं’, निर्देशक सपनकुमार राईले भने, ‘यसपटक विगतको भन्दा पनि अझै बढि व्यापक सहभागिता र थप गुणस्तरको कार्यक्रम बनाउने लक्ष्यसहित हामी लागिरहेका छौं ।’ यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला भइसकेको छ । ईच्छुक प्रतियोगीहरुले यहि अगस्ट महिनाको ३१ तारिखसम्म आफ्नो नृत्य गरेको भिडियो आयोजकको इमेल sapanentertainment@outlook.com मा पठाउन सक्नेछन् ।
फाइल तस्बिर हयाब अ मोमेन्ट
आयोजकलाई उनीहरुको फेसबुक पेज मार्फत पनि सम्पर्क गर्न सकिनेछ । प्रतियोगितामा भाग लिन १५ वर्षभन्दा माथिको उमेर हुनुपर्नेछ । १६ वर्षसम्मका प्रतियोगीहरुले भने प्रतियोगिताका दिन आफ्नो अभिभावक पनि साथमै लिएर आउनुपर्नेछ । प्रतियोगीहरुलाई ५० पाउण्डको प्रवेश शुल्क लाग्नेछ । ‘यूके डान्स अफ नृत्यमा प्रतिभा र प्यासन दुवै भएकाहरुको लागि हो । नृत्यको कौशल मात्र नभएर यो क्षेत्रमा केहि गर्छु भन्ने अठोट पनि हुनेहरुका लागि यो उपयुक्त प्लेटफर्म हो’, कार्यक्रम संयोजक निशाले बताइन् । यसरी इमेलमार्फत प्राप्त भएका भिडियोहरुको आधारमा फाइनलका लागि १० जना प्रतियोगी छनौट गरिनेछन् । यस वर्षको प्रतियोगितामा निर्णायकको भुमिकामा नेपाली चलचित्र क्षेत्रकी चर्चित नृत्य निर्देशक रेनासा राई, लोकप्रिय नायक दिलीप रायमाझी, नृत्य निर्देशक कविराज गहतराज, पहिलो यूके डान्स अफ विजेता जेनी सुनुवार तथा यूके डान्स अफबाटै उदाएका नायक धिरज मगर रहनेछन् । प्रतियोगिताको फाइनलका दिन विभिन्न २ राउण्डमा प्रतियोगीहरुले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् ।
‘स्वदेशको झल्को’ नामको पहिलो राउण्डमा प्रतियोगीहरुले अनिवार्य रुपमा नेपाली गीतमा नृत्य देखाउनुपर्नेछ भने दोस्रो ‘क्याच द रिदम’ राउण्डमा आफुलाई मन पर्ने जुनसुकै गीतमा नृत्य देखाउन सक्नेछन् । प्रतियोगीहरुको प्रस्तुतिमा निर्णायकहरुले प्रदान गरेको अंकबाट ७० प्रतिशत र फाइनल हेर्न उपस्थित दर्शकहरुले प्रत्यक्ष रुपमा दिएको मतबाट ३० प्रतिशत जोडेर अन्तिम नतिजा निकालिनेछ । मुल्यांकनलार्ई सकेसम्म बढि निश्पक्ष र विश्वसनीय बनाउने उद्धेश्यले विगतका वर्षहरुमा जस्तै युट्युबमा अपलोड भएको भिडियोमा दिइएको मतलाई भने यसपटक नतिजाको लागि गणना नगरिने भएको छ । प्रतियोगिताको फाइनल हेर्न ६ सय दर्शक उतार्ने योजना आयोजकको छ ।
यूके डान्स अफको विजेतालाई १२ सय पाउण्ड तथा पहिलो र दोस्रो रनर अपलाई क्रमशः ८ सय र ५ सय पाउण्ड नगद र ट्रफीले पुरस्कृत गरिनेछ । तर सक्षम विजेताहरुको लागि नेपाली चलचित्र र मिडिया क्षेत्रमा आकर्षक अवसरहरु समेत रहने आयोजकको विश्वास छ । यसपटकको कार्यक्रममा पनि निर्णायक र अतिथीका रुपमा नेपाली चलचित्र क्षेत्रबाट स्थापित कलाकार, निर्देशक र निर्माताहरु सहभागी हुंदैछन् । बलिउडका केहि अतिथीलाई समेत कार्यक्रममा उपस्थित गराउने पहल आयोजकले गरिरहेका छन् ।
‘नृत्यमा प्रतिभा र प्यासन हुने प्रतियोगीहरुको लागि चलचित्र क्षेत्रमा अवसरको ढोका खोलिदिनु नै हाम्रो कार्यक्रमको मुख्य उद्धेश्य हो’ , सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई भन्छन्, ‘विगतका दुवै वर्षमा आएका केहि प्रतिभावान प्रतियोगीले नेपाली चलचित्रहरुमा लिड रोलसम्मको मौका पाएका छन् । यसले हामीलाई आउंदो कार्यक्रमको लाथि थप उत्साहित बनाएको छ ।’ यसअघि यूके डान्स अफ २०१७ की विजेता जसिता गुरुंग अहिले नवनायिकाका रुपमा नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक चर्चा कमाउन सफल छन् ।
यूके डान्स अफकै प्रस्तुतिबाट प्रभावित भएर निर्देशक मिलन चाम्सले जसितालाई चलचित्र लिलीबिलीमा अवसर दिए । उक्त चलचित्रको सफलतापछि जसिताका हातमा अहिले झण्डै १ दर्जन चलचित्रका लागि अफरहरु आएका छन् । त्यस्तै, यूके डान्स अफकै स्टेजबाट उदाएका धिरज मगरले पनि नेपाली चलचित्र क्षेत्रमा दमदार डेब्यु गर्दैछन् । यूके डान्स अफमा गरेको प्रस्तुतिकै आधारमा धिरजले चलचित्र इन्टु मिन्टु लण्डनमा मौका पाएका थिए । जुन चलचित्र अर्को महिना रिलिज हुंदैछ । यूके डान्स अफ २०१८ लाई सफल बनाउनको लागि अहिले आयोजक सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राई र मञ्जु गुरुङ तथा कार्यक्रमकी संयोजक निशा गुरुङसहितको टोली तयारीमा जुटिरहेको छ । यस वर्षको कार्यक्रमको लागि प्रमुख सल्लाहकार सुर्य गुरुङ , कानुनी सल्लाहकार सोलिसिटर राजु थापा र सल्लाहकार डा कपिल रिजाल छन् ।
त्यस्तै, कार्यक्रमको मुख्य स्पोन्सर कमल गुरुङ र पुनम गुरुङ (एनआरएन यूके उपाध्यक्ष) सञ्चालक रहेको न्यूबरीस्थित गोर्खा सेफ रेष्टुरेन्ट छ । यूके डान्स अफको आयोजक सपन इन्टरटेनमेन्ट बेलायतमा पछिल्लो २५ वर्षदेखि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको एक स्थापित इभेन्ट अर्गानाइजर हो । सपन इन्टरटेनमेन्टले अहिलेसम्म नेपालबाट महजोडी, भुवन केसी, अनमोल केसी, सन्तोष पन्त, अञ्जु पन्त, सुगम पोखरेल, प्रियंका कार्की सहित ८० भन्दा बढि नेपाली कलाकारलाईै बेलायतमा ल्याएर सफल कार्यक्रमहरु गरिसकेको छ ।
यूके डान्स अफका विगतका दुई वटा संस्करणको सफलतापछि अहिले हामी ठूलो उत्साहका साथ तेस्रो वर्षका लागि तयारीमा जुटेका छौं’,आयोजक सपन इन्टरटेनमेन्ट यूकेका निर्देशक सपनकुमार राई र कार्यक्रम संयोजक निशा गुरुङ-यसपटक विगतको भन्दा पनि अझै बढि व्यापक सहभागिता र थप गुणस्तरको कार्यक्रम बनाउने लक्ष्यसहित हामी लागिरहेका छौं ।’
लण्डन नेपाल न्यूजका प्रधान संपादक शिव भण्डारीको बिशेष लाइभ रिपोर्ट..!!
काठमाडौँ, १९ भदौ । प्रमुख तीन राजनीतिक दलले संयुक्तरुपमा नेपालको संविधान, २०७२ माथि संशोधन प्रस्ताव दर्ता गराउने भएका छन् । सिंहदरबारमा आज बसेको बैठकले संविधान […]
काठमाडौं। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा विद्रोही समूहको कब्जामा रहेको गुटामा जारी हमला तत्काल रोक्न निर्देशन दिएका छन् । राष्ट्रपति पुटिनले दैनिक ५ घण्टा आक्रमण […]
काठमाडौँ । विहिबारको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीको लाठी चार्जबाट घाइते भएका ४ जनालाई थप उपचारको निम्ती काठमाडौँ ल्याउन लागिएको छ । स्थिती तनावग्रस्त भएको कारण […]