लन्डन । नेपाली संस्कृति र परम्परालाई प्रवर्दन गर्न बेलायतमा सक्रिय संस्था प्रतिभा नक्षत्रले दोश्रो बृहत कार्यक्रमको तयारी गरेको छ ।
कार्यक्रम यहि आइतबार अगस्ट १९ मा आयोजना हुंदैछ । प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा आयोजना हुने दोस्रो प्रतिभा नक्षेत्र २०१८ को फाइनलबाट युवा तथा बाल समुहमा छुट्टाछ्ट्टै विजेताहरु चयन गरिनेछ ।
विहिबार सांझसम्म कार्यक्रमको तयारी करिब पूरा भएको जानकारी आयोजक प्रतिभा नक्षेत्रले गराएको छ । आइतबारको फाइनल राउण्डमा बाल समुहमा १६ तथा युवा समुहमा १२ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । यीनै प्रतियोगीहरुमध्येबाट सन् २०१८ को बाल प्रतिभा नक्षेत्र र युवा प्रतिभा नक्षेत्रको घोषणा गरिनेछ । यसपटक युवा समुहमा प्रथम हुनेलाई ५ सय पाउन्ड, दोस्रो हुनेलाई ३ सय पाउण्ड र तेस्रो हुनेलाई २ सय पाउण्ड नगद र ट्रफीको पुरुस्कार दिइनेछ । त्यस्तै, बाल समुहमा प्रथम हुनेलाई ३ सय पाउण्ड, दोस्रो हुनेलाई २ सय पाउण्ड र तेस्रो हुनेलाई १ सय पाउण्ड नगद र ट्रफीले पुरस्कृत गरिनेछ ।
विजेताहरुलाई बेलायतमा आयोजना हुने विभिन्न कार्यक्रम तथा प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर दिइनेछ । यसपटक प्रतिभा नक्षेत्रमा लण्डनसहित योर्क, एसेक्स, सर्रे, डार्टफोर्ड, स्कटल्याण्ड लगायतका बेलायतका विभिन्न क्षेत्रबाट प्रतियोगीहरुको आवेदन परेको थियो ।
गायन, कविता, नृत्य, वाद्यवादन ( हारमोनियम, भाइलिन , गिटार ) , लगायतका फरक फरक विधाका प्रतिभाहरु प्रतिस्पर्धामा छन् । सबै प्रतियोगिहरूलाई हरेक दिन जसो मेन्टरहरूले अभ्यासस्थल र अनलाइनको माध्यमबाट समेत सुपरभिजन गर्दै गत अगस्ट ९ तारिख बिहिबारका दिन प्लमस्टिडस्थित गोर्खा क्लबमा अडिसन लिएर छनौट गरिएको थियो ।
प्रवासमा नेपाली संस्कृति, भाषा, कला र संस्कारको संरक्षण गर्ने तथा यहां हुर्किदै गरेको दोस्रो पुस्तामा हस्तान्तरण गर्ने प्रमुख लक्ष्यसहित गत वर्ष प्रतिभा नक्षेत्रको पहिलो संस्करण आयोजना भएको थियो । यसपटक आयोजना हुन लागेको प्रतियोगिताको दोस्रो संस्करणलाई सहभागिता र व्यवस्थापनको हिसाबले अझै बढि व्यापक बनाइएको आयोजक प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनले बताएकी छन् ।
प्रतियोगीहरुका साथ आयोजक प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुन कार्यक्रमलाई सफल बनाउने लक्ष्यसहित कार्यक्रमका परिकल्पनाकार राजेन्द्र खस, संरक्षक मनिषकुमार श्रेष्ठसहित सिम्मी पुन नेतृत्वमा लक्षमण गुरुङ, सन्तोष कार्की, विनोद चिपालु, सुस्मिता थापा, बाबु राना, सुर्यविक्रम केसी, बिरेन्द्र नेपाल, अभि महर्जन लगायतको प्रतिभा नक्षेत्रको सिंगो टिम अहिले अहोरात्र खटिएको छ ।
बेलायतस्थित विभिन्न नेपाली संघसंस्था र समुदायबाट प्राप्त गरेको ऐक्यबद्धता, समर्थन र हौसलाबाट आफुहरु थप उत्साहित बनेको उनीहरु बताउंछन् । प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा आइतबार सांझ ५ देखि ११ बजेसम्म हुने फाइनलमा सहभागी भएर प्रतियोगीहरुको हौसला बढाइदिन र मनोरञ्जन लिन आयोजकले बेलायतबासी सबै नेपालीहरुसमक्ष आग्रह गरेका छन् ।







