काठमाडौं– सत्तापक्षीय गठबन्धन काँग्रेस–माओवादी र विपक्षी एमालेका लागि प्रतिष्ठाको विषय बनेको भरतपुर महानगरपालिकाको स्थानीय तहको चुनावको अन्तिम नतिजा अवका केही घण्टापछि आउन सक्छ, यदि कुनै नाटकीय ‘दूर्घटना’ भएन भने । पहिलो र दोस्रो चरणका सवै निर्वाचन ओझेलमा पार्ने गरी भरतपुरमा भएको थियो भरतपुरमा प्रतिष्ठाको लडाई ।
मतपत्र च्यातिएको प्रकरण निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुग्यो । तर, अन्तिम निर्णयका लागि फेरि जनताकहाँ जाने निर्णय भयो । यही कारण दुवै पक्ष आफ्नो परीक्षणका लागि साउन २० गते अर्थात शुक्रवार फेरि ‘जनअदालत’ मा हाजिर भए । सर्वोच्चको फैसलामा पनि दुवै पक्षले आ–आफ्नो सुविधामा ब्याख्या गरेका थिए ।
जनताले आफ्नो निर्णय दिए । मतमा सत्तापक्षीय गठबन्धनलाई फाइदा भयो । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना शुक्रवार राती १०:३० बजेदेखि सुरु भएको थियो । करिव १२ घण्टामा मतगणना सकियो । तर, अन्तिम नतिजाका लागि २० नम्वर वडाको मत गणना सकिनुपर्नेछ । मेयरको लडाईंमा एमाले र माओवादीका नेता छन् । तर, निर्णायक मतदाता काँग्रेसका छन यहाँ ।
पहिलो चरणको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नं १९ को मतगणनाको अन्तिम चरणमा आइपुग्दा जेठ १४ गते राति मत्रपत्र च्यातिएको थियो । मतपत्र च्यातिएसँगै रोकिएको मतगणना शुक्रवार पुनःमतदानपछि सुरु गरिएको थियो ।
१९ नम्वर वडाको मतगणना सकिदासम्म दुवैपक्ष आ–आफ्नो जितको सम्भावनालाई देखिरहेका छन् । सर्मथकहरुको मुटुको घडकन बढेको छ । मतदाताहरु हरपल मतगणनास्थलको ‘अपडेट’ जान्न चाहेका छन् । बालकोट र लाजिम्पाटको नजर भरतपुरमै छ । सामाजिक संजालमा स्टाट्स लेखेर समर्थकहरुले मनोरन्जन लिईरहेका छन् ।
शुक्रबार भएको निर्वाचनमा सो वडामा दुई हजार ८७० मत खसेको थियो । यसअघि सो वडामा दुई हजार ८९७ मत खसेको थियो । पहिलेभन्दा २७ मत कम खसेको हो । सो वडामा तीन हजार ७९७ मतदाता छन् ।
भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदान सकिने बेलासम्म एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली २२१ मतले अगाडि छन् । १९ वडाको मतगणना सकिँदासम्म देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणुले ४१ हजार ७२५ मत ल्याएकी छन् ।
यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ३८६०५ मत पाउँदा कांग्रेसका उम्मेदवारले ४५६२३ मत ल्याएकी छिन् ।
१९ वडामा बदर मत २८ र सदर मत २८३६ थिए । यहाँ काँग्रेसका उम्मेदवार कर्णबहादुर गुरुङ १४७८ मत ल्याएर बिजयी भए । एमालेका उम्मेदवारले एक हजार ९७ मत पाए ।
मतगणनास्थललाई निकै सुरक्षित र व्यवस्थित बनाइयो, दूर्घटना नदोहोरियोस् भनेर । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा जडान गरिएको छ । सिसी क्यामेरा जडान गरेर यस अघि कही पनि मतगणना भएको थिएन ।
मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थानमा तारजाली लगाइएको छ । दलका प्रतिनिधि जालीभित्र रहनेछन् भने बाहिर कर्मचारीले मतगणना गर्नेछन् । राजनीतिक दलका प्रमुख नेतृत्व, उम्मेदवार र गणना हुने वडाका प्रतिनिधिबाहेक अन्य प्रतिनिधि राखिएको छैन ।
सम्भावित नाटकीय दूर्घटना रोक्न अपनाइएको विधि हुन् यी ।
र, यति हुँदा हुँदै पनि सवैको चासो चाहीँ अन्तिम नतिजामै छ ।






