संविधान संशोधन प्रस्ताव म प्रधानमन्त्री हुँदासम्म फिर्ता हुँदैन: दाहाल

दाङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने बताएका छन् ।

दाङको राप्ती नदीमा सिसहनिया महदेवा जोड्ने पुलको शिलान्यास समारोहलाई बुधबार देउखुरीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने र संसदीय प्रक्रियाभित्रै रहेर परिमार्जन हुनसक्ने बताए ।

एमालेले तयार पारेको संशोधन प्रस्तावमा आफूले थोरै थपघट गरेर संशोधन प्रस्ताव ल्याएको भन्दै उनले एमालेले प्रस्तावको गलत प्रचार गरेको बताए । उनले संविधान संशोधनको विरोधमा आन्दोलनरत दललाई आन्दोलन छाडेर सहमतिमा आउन अपिलसमेत गरे ।

‘अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्नेछ, सरकारले हिमाल पहाड–तराई जोडेर एकताबद्ध गर्न खोजेको रहेछ, राष्ट्रिय एकता मजबुत गराउन खोजेको रहेछ, तर हामीले त बिखण्डन पो गर्न खोजेका रहेछौं भनेर एमालेले केही समयपछि गल्ती महसुस गर्नेछ,’ उनले भने ।