संसदीय सुनुवाइ समिति बैठक : के होला जोशीबारे निर्णय ?

काठमाडौँ– संसदीय सुनुवाइ समितिको बैठक सोमबार दिउँसो २ बजेको लागि बोलाइएको छ ।

बैठकले भावी प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय गर्ने बताइएको छ । समितिका सदस्यहरुले आज बस्ने बैठकबाट उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिएका छन् ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । तर, प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको छ ।

सोहि कारण हिजोका लागि बोलाइएको बैठक केहि सदस्य उपत्यका बाहिर रहेको बहना बनाइ आजको लागि स्थगित गरिएको थियो ।

संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।