काठमाडौं- नेपाल चिकित्सक संघले प्रा.डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज बिहीबार देशभरका सरकारी तथा नीजि स्वास्थ्य संस्थाका आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने भएको छ ।
संघले बुधबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । संघका अनुसार आज सरकारी र निजी शिक्षण अस्पताल सहित नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्यसंस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरी दिउसो १२ बजे माइतिघर मण्डलामा भेला गरिने छ ।
यति गर्दा पनि सरकार संवेदनशील नभए आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकाल सम्म बन्द गरिने संघको दाबी छ । असार १६ गते देखि जुम्लामा अनसनरत प्रा.डा. केसीको जीवन रक्षाका निम्ति प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्य मन्त्री सहित दलका शीर्षस्थ नेतासँग अपिल गर्दा समेत सरकारले नटेरेको संघको आरोप छ । संघले सरकारद्वारा गठित वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा केसीलाई जबर्जस्ती काठमाडौं ल्याउने प्रपञ्च मात्र रचिएको आशंका छ ।
संविधानप्रदत्त नागरिकको स्वास्थ्य र शिक्षा सम्बन्धी मौलिक हकका पक्षमा उठेको नागरिक आवाजलाई दबाउन खोज्ने र राज्यको तर्फबाट अफवाह फैलाउने कार्यप्रति संघले भत्र्सना र निन्दा गरेको छ । संघले प्रेस विज्ञप्ती मार्फत माथेमा आयोगको प्रतिवेदन अनुसारकै विधेयक ल्याउनु पर्ने माग राखी १९ दिन देखि अनसनरत डा. केसीले जीवन नै त्याग्नु पर्ने परिस्थिति सिर्जना भएमा संघ जस्तोसुकै परिस्थितिको सामना गर्न पछि नह्टने चेतावनी दिएको छ ।
हालको विवादास्पद विधेयक फिर्ता गरी पुरानै अध्यादेश अनुसारको विधेयक ल्याई डा केसीको जीवन बचाउन संघले माग गरेको छ ।






