यही जुलाई २९ र ३० मा यूरोपमा एनआरएनको यूरोप सम्मेलन हुँदैछ । विशेष गरि एनआरएनको काठमाडौमा हुने विज्ञ सम्मेलनको तयारीस्वस्प यूरोपमा जुलाईको अन्त्मा सो सम्मेलन हुँदैछ । यूरोपको एघारौ युरोपेली क्षेत्रीय बैठक युरोपेली धनी मुलुक लक्जम्बर्गको हिल्टन होटलमा हुनेछ । सम्मेलनमा युरोपस्थित २७ देशका गैरआवासी नेपाली सहभागि हुनुहुनेछ । बैठक भनीएपनि सो सम्मेलनमा युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरु, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु समेत सहभागि हुनुहुनेछ । सम्मेलनमा एनआरएनका समस्या, यूरोप एनसिसीका गतिविधीहरु, युरोपबाट नेपालको पर्यटन प्रबद्र्धन, लगानी, प्रविधिको हस्तान्तरण र महिलाहरुका समस्याका विषयमा गहन छलफल हुने बताइएको छ । त्यसै विषयमा केन्द्रित रहेर किरण बुढाथोकीले एनआरएन यूरोप संयोजक शिवकुमार बरुवालसँग छोटो कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, संयोजक बरुवालसँग गरिएको कुराकानीको सम्पादीत अंश ;
यही जुलाई २९ र ३० मा यूरोपको लक्जेम्बर्गमा हुने यूरोप सम्मेलनको तयारी कसरी अगाडि बढाइरहनु भएको छ ?
सम्मेलनको लागि विशेषत विभिन्न ढंगले तयारी भइरहेको छ । सम्मेलको लागि यूरोपभित्र रहेका विभिन्न २७ एनसिसीहरुसँग सरसल्लाह, छलफल गरेर विभिन्न समिति तथा उपसमिति गठन गरेर कार्यविभाजन गरेका छौ । सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, बस्ने ठाउँ, अतिथिलगायतको टुंगो लगाइसकेका छौ । समग्रमा भन्दा सम्मेलनको तयारी तीब्र रुपमा भइरहेको छ ।
यूरोप सम्मेलन किन आयोजना गर्दै हुनुहुन्छ ? विशेष गरि सम्मेलनको मुख्य उद्देश्य के हो ?
यूरोप सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्य विशेषत : नेपालमा हुन लागिरहेको विज्ञ सम्मेलनको तयारीस्वस्प नै हो । यूरोपका विभिन्न एनसिसीहरु एउटै प्लेटमा उपस्थित भएर यहाँका एनसिसीका समस्या के के छन् ? ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? र एकीकृत रुपमा आर्थिक सम्मृद्धिको लागि गैर आवासीय नेपालीले सिकेका ज्ञान, सिप अर्थात लगानी र प्रविधि नेपालमा कसरी भित्र्याउन सकिन्छ भनेर नै हो । अर्का कुरा यूरोपका आन्तारिक समस्याका बारेमा घनीभूत छलफल गर्न, नेपालमा सरकारले नै बजेटमार्फत सिप र प्रविधि भित्र्याउने उल्लेख गरिसकेकाले सोहीअनुसार विभिन्न कम्पनीलाई नेपालमा लगानीको वातावरण बनाउने र युरोपपीयन बैठकका लागि नै हो ।
तपाईले माथि उद्देश्यका बारेमा त प्रष्ट पार्नुभो । सम्मेलनमा कुन कुन विषयमा छलफल गर्नुहुने कार्यक्रम तय गर्नुभएको छ ?
सम्मेलनमा एनआरएनका समस्या, यूरोप एनसिसीका गतिविधी, यूरोपमा नेपालको पर्यटन प्रबद्र्धन, लगानी, प्रविधिको हस्तान्तरण, महिलाहरुको सम्मेलन गर्ने कार्यक्रम तय गरेका छौ ।
सम्मेलनमा को -को सहभागि हुनुहुनेछ ?
नेपालबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रमुख अतिथिको रुपमा सहभागि हुनेहुनेछ । साथै विशेष अतिथिका रुपमा पूर्व प्रधानमन्त्री बाबुराम भट्राई, निजी क्षेत्रका प्रतिनिधि, उद्योग वाणिज्य महासंघका प्रतिनिधि तथा प्रतिष्ठित ब्यक्तित्वहरु सहभागि हुने निश्चित भइसकेको छ । साथै यूरोपभरीका एनसिसी, आइसिसी पदाधिकारी, सदस्यहरुको सहभागिता रहनेछ ।






