काठमाडौं । नायक अनमोल केसीको क्रेज नेपाली चलचित्र जगतमा जताततै छ । यूवापुस्तामाझ निकै लोकप्रिय अनमोल महंगा नायक हुन् । यही क्रेजले गर्दा पनि होला उनी चलचित्र मात्र हैन कुनै ब्रान्डलाई प्रमोट गर्न पनी महँगो पारिश्रमिक लिने गर्छन् । यूवापुस्तामा आफ्नो सामानको क्रेज बढाउन विभिन्न ब्रान्डहरु उनीसँग जोडिन चाहन्छन् । त्यसैले उनले भनेजति पारिश्रमिक दिन पनि हिच्किचाउदैनन् ।
हालै अनमोल केसी ‘क्याप्स’ ब्रान्डका लूगाको ब्रान्ड एम्ब्यासडर बनेका छन् । त्यसका लागि उनले १५ लाख रुपैयाँ पारिश्रमिक लिएका छन् जुन निकै महंगो पारिश्रमिकका रुपमा लिइन्छ । १ बर्षसम्म उनले यस ब्रान्डको प्रमोशन गर्नेछन् । यो ब्रान्डका पहिरनहरु काठमाण्डौ, नेपालगञ्ज, पोखरा, बुटवल, विराटनगर, इटहरी, जनकपुर, धरान लगायत देशका ५० स्टोरमा उपलब्ध गराइसकेको बजार प्रवन्धक दीपक नेपालीले बताएका छन् ।
‘क्याप्स’ ब्रान्डको तर्फबाट गौतम वैश्य र नायक अनमोल केसीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् । यस्तै प्रदिप खड्का, साम्रागी लगायतका कलाकारहरु पनि ब्रान्ड एम्ब्यासडरका रुपमा देखिनेगरेका छन् ।






