काठमाडौं, फाल्गुन १९ । एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई २ सय १ रनको फराकिलो अन्तरले हराएको छ । ४ सय १२ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ४५ ओभरमा सबै विकेट गुमाएर २ सय १० रन बनाएको थियो । कायल एबोटले ४ तथा मोर्ने मोर्केले ३ विकेट झारे । यसअघि अष्ट्रेलियाको राजधानी क्यानबेरामा भएको खेलमा पहिले ब्याटिङ् गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर ४ सय ११ रन बनायो ।
जारी विश्वकपमा दक्षिण अफ्रिकाले ४ सयभन्दा बढी रन बनाएको यो लगातार दोस्रो अवसर हो । यसअघि दक्षिण अफ्रिकाले वेष्ट इन्डिजविरुद्ध ४ सय ८ रन बनाएको थियो । हसिम अम्लाले १ सय ५९ तथा फाफ् दु प्लेसिसले १ सय ९ रनको योगदान दिए । यो हारसंगै जाइन्ट किलरको उपमा पाएको आयरल्याण्डको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
यसअघि वेष्ट इन्डिज र युएईलाई हराएको आयरल्याण्ड दक्षिण अफ्रिकासंगको हारले चौथो स्थानमा झरेको छ । समूहमा तीन खेलबाट सत्प्रतिशत नतिजाका साथ भारत शीर्ष स्थानमा छ भने भारतसंग हारेको दक्षिणअ अफ्रिका चार खेलबाट ६ अंकमा रहँदै दोस्रो स्थानमा उक्लिएको छ । विश्वकप अन्तर्गत बुधबार २ खेल हुँदैछन् । न्यूजिल्याण्डको नेपियरमा बिहान पौने ७ बजे पाकिस्तान र युएई भिड्दै छन् । यो खेलमा पराजित भए युएई दुई खेल खेल्न बाँकी छँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्नेछ । त्यसैगरी दिउँसो सवा १२ बजे अष्ट्रेलिया र अफगानिस्तान पर्थमा भिड्दै छन् ।
दक्षिण अफ्रिकाले आयरल्याण्डलाई हरायो






