अमेरिकामा हुन लागिरहेको एनआरएनको बौद्धिक भेलामा पाँच सयको सहभागिता रहने

लन्डन । अमेरिकामा हुन लागिरहेको एनआरएनको बौद्धिक भेलामा करिब पाँच सयको सहभागिता रहने भएको छ । एनआरएनको आयोजनामा अमेरिकाको सानफ्रान्सिस्को सहरमा हुन लागेको नेपालीहरूको बौद्धिक सम्मेलनमा तीन सयदेखि पाँच सयको हाराहारीमा सहभागिता रहने भएको हो ।

एनआरएन अमेरिकाज क्षेत्र र गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको संयुक्त आयोजनामा पहिलो पटक हुन लागेको सम्मेलन आगामी जुन १६ मा हुँदैछ ।  भेलामा ३ देखि ५ सय सम्मको सहभागिता हुने अनुमान छ । अमेरिका क्षेत्र अन्तरगत एनआरएन चिली, एनआरएन ब्राजिल, एनआरएन क्यानडा र एनआरएन अमेरिका पर्दछन् ।

आयोजकका अनुसार सम्मेलनका तयारी अन्तिम चरणमा पुगिसकेको हो । सम्मेलनमा सहभागी हुन नेपालबाट मन्त्री, सांसद, राजनीतिक दलका नेता तथा व्यवसायीहरू जाने भएका छन् । सम्मेलनमा नेपालबाट पर्यटन मन्त्री रवीन्द्र अधिकारी, एमाले सांसद कृष्णभक्त पोख्रेल, कांग्रेसका विदेश विभाग प्रमुख तथा राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनी र व्यवसायी विनोद चौधरी लगायत ५ जना जाने तय भइसकेको एनआरएनले जनाएको छ । ।