काठमाडौं, फाल्गुन १८ । काठमाडौंमा स्वाईन फ्लूबाट एक महिलाको मृत्यु भएको सार्वजनिक भएको अर्को दिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले भने कसैको पनि मृत्यु नभएको ठोकुवा गरे । रिपोर्टर्स क्लवले गरेको कार्यक्रममा मन्त्री अधिकारीले काठमाडौं मोडल अस्पतालमा निधन भएकी ५० बर्षिया महिलाको मृत्युको कारण स्वाइफ्लू नभई निमोनिया भएको बताए । मन्त्री अधिकारीले स्वाइन फ्लूको औषधी आगामी डेढ महिनाका लागि पुग्नेगरी रहेको जानकारी दिंदै नागरिकलाई आतंकित नपार्न पनि सरोकारवालाहरुलाई आग्रह गरे ।
देशभित्रका विज्ञ र विदेशी दाताहरुसंग पनि संभावित जोखिम न्यूनिकरण र सहयोगबारे छलफल भइरहेको भन्दै मन्त्री अधिकारीले अहिले देखिएका समस्यालाई महामारीको रुपमा ब्याख्या गर्न नहुनेमा जोड दिए । उनले जिल्लाका जनस्वास्थ्य कार्यालय र निजी अस्पतालहरुलाई पनि उपचारमा सहयोग गर्न आग्रह गरिएको बताए ।
अघिल्लो दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाइन फ्लुबाट एक जनाको मृत्यु भएको जनाएको थियो ।
इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले मृतक महिलालाई निमोनिया भए पनि स्वाइन फ्लु पनि लागेको स्पष्ट पारे । उनले हालसम्म नेपालमा स्वाइन फ्लु संक्रमितको संख्या ४८ पुगेको जानकारी दिए ।
स्वाइनफ्लुले कसैको निधन भएको छैन : स्वास्थ्यमन्त्री






