शिब भण्डारी
लन्डन । बेलायतमा नेपाली सेफहरुको संगठन (नेप्लिज सेफ एशोसिएसन ) युकेले नयाँ वर्षको अवसरमा एक शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । एशोसिएसनले अंग्रेजी नयाँ वर्षसँग भिजिट नेपाल २०२० को पनि शुभराम्भ गरेको छ ।
बेलायतस्थित विभिन्न क्षेत्रमा कार्यरत सेफहरुको सहभागितामा शुभकामना आदान–प्रदान गरी सम्पन्न गरेको हो । एसोसिएसनका अध्यक्ष दधी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि थिए । विशेष अतिथि गैरआवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष कुल आचार्य थिए । 
एसोसिएसनका महासचिव भूपी पाठकले सरल र सिष्ट भाषामा सञ्चालन गरेको कार्यक्रम संयोजक एवम् उपाध्यक्ष मोहन ओलीले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा राजदूत डा. सुवेदीलेएनआरएनए युरोप संयोजकमा हालै निर्वाचित कृष्ण तिमल्सेनालाई सम्मान पनि गरेका थिए। 
लण्डनको भेन्यु फाइभ रेस्टुरेन्टमा सोमबार बेलुकी आयोजित एक समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले नेपाली खाना र परिकार विश्व भरि चिनाउन नेपाली सेफहरुले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरे। उनले नेपाली नयाँ वर्षको अवसर पारेर आउंदो एप्रिल महिनामा नेपाली दूतावासले नेप्लिज सेफ एसोसियशन युके तथा नेपाली क्याटरिङ्ग एसोसियशन युकेसंगको सहकार्यमा नेप्लिज फुड फेस्टिभल आयोजना गर्न लागिएको जानकारी दिए । उनले नेपाल भ्रमण वर्ष २०२० लाइ सफल पार्न बेलायतस्थित सबै रेस्टुरेन्ट तथा सेफहरुलाई आग्रह पनि गरे। 
कार्यक्रममा राजदूत डा. सुवेदीले भने, जहिले पनि जित्नेको मात्रै इतिहास लेखिने तर बेलायतको नेपाली समुदायलाई एकजुट गर्न एनआरएनएका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। “कुलजी मेरा मित्र मात्रै होइन, एक अग्लो र सग्लो व्यक्तित्व पनि हो। संसार भरिबाट बेलायतका नेपालीहरुलाई हेर्दा उहाँको व्यक्तित्व स्पष्टसंग देख्न सकिन्छ,” उनले भने। 
एनआरएन सल्लहकार कुल आचार्य,एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ,गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय उप-संयोजक एबम सेफ एसोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सिना,आईसीसी सदस्य रामशरण सिम्खडा, एनआरएन यूके महासचिव फण्डिन्द्र भट्टराई,ओएनएफ यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी,पत्रकार महासंघ बेलायत शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल,यति एसोसिएसनका अध्यक्ष ध्रुब केसी, क्याट्रिङ एसोसिएसनका अध्यक्ष विजय थापा,एनआरएनए कार्यसमिति सदस्य गोमा पौडेल लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा लन्डनस्थित दूतावासका द्वितीय सचिव लव सुवेदी, ब्रिटिस नेपाल च्यम्बर अफ कमर्सका उपाध्यक्ष विराज भट्ट, युवा ब्यबसायी बिस्नु खरेल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बेलायतको विभिन्न क्षेत्रबाट सेफका परिवारसहितको उपस्थिति थियो । विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए । हेम विष्टको साउन्ड सिस्टममा राष्ट्रिय कलाकार गायिका सिर्जु अधिकारी,खिमा रोका मगर,भीम पौडेल,स्थानिय गायिका सुजाता काफ्ले लगायतका कलाकारले सहभागीलाई मनोरञ्जन दिएका थिए ।
हेम विष्टको डिजमा ती कलाकारको प्रस्तुतिमा सहभागी खुलेर नाँचेका थिए । कार्यक्रमका सभापति तथा नेप्लिज सेफ एसोसियसनका अध्यक्ष दधि आचार्यले सबैलाई धन्यवाद दिएका थिए। 










