लण्डन । नेपालमा पछिल्लो समयको सर्वाधिक सफल चलचित्र ‘शत्रु गते’ हेर्न बेलायतको हलमा दर्शकहरुको भिडभाड देखिएको छ ।
आइतबार सांझ अल्डरसटको प्रिन्सेस हलमा गरिएको शत्रु गतेको शो हाउसफुल नै भयो । ५ सय भन्दा बढि दर्शकले चलचित्र हेरेको आयोजक समहुका अनिल मल्लले जानकारी दिए ।
बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्ट यूकेले शत्रु गतेलाई बेलायतमा ल्याएको हो ।’चलचित्रको पहिलो शोबाट हामीहरु निकै उत्साहित छौं, बेलायतका अरु शोहरुमा पनि यस्तै सकारात्मक रेस्पोन्सको आशा राखेका छौं’, आयोजक समुहका बिरेन खड्काले भने, ‘शत्रु गते हेर्न भनेर धेरै दर्शकले हप्तौं अघिदेखि टिकट बुक गरेर आएका थिए । चलचित्र हेरिसकेपछि सबैजना खुशी बनेर फर्किएका छन् ।’
चलचित्रको शो सुरु हनुअघि यस चलचित्रको निर्मातामध्येकी एक तथा कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोधा सुवेदीको निधनमा शोक व्यक्त गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो ।
मह सञ्चारले निर्माण गरेको सत्रु गतेको निर्देशन युवा निर्देशक प्रदिप भट्टराईले गरेका हुन् । यसमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रलाई बेलायतका विभिन्न क्षेत्रमा लगेर स्थानीय नेपालीहरुमाझ प्रदर्शन गर्ने आयोजकको तयारी छ । आउंदो मे ५ मा स्विण्डन र टिडवोर्थ , मे ६ मा प्लमस्टिड, मे ७ मा पिटरबरो, मे १२ मा स्कटल्याण्ड , मे १३ मा विन्चेस्टर र मे २० मा ह्यारोमा चलचित्र प्रदर्शन हुने तय भइसकेको छ । त्यस्तै, आसफोर्ड, फेल्थाम, वकिङ, बेजिङस्टोक, क्याटरिक, योर्क लगायतका ठाउंमा भने चलचित्र देखाइने योजना भएपनि मिती तय हुन बांकी छ ।






