ललितपुर– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशमा कसैले भ्रष्टाचार गर्छ भने त्यो मान्य नहुने बताउनु भएको छ ।
नेकपा (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चले शनिबार गोदावरीमा आयोजना गरेको वृहत बनभोज कार्यक्रममा यस्तो बताउनुभएको हो । ‘भ्रष्टहरु हाम्रो अर्काको, तेरो–मेरो, नजिकको–टाढाको, यताको उताको केही पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचार गरेको पाइएमा, भ्रष्टाचार गरेको भेटिएमा भ्रष्टचारीप्रति निर्मम ढंगले यो सरकार प्रस्तुत हुन्छ ।’
उहाँले कोही पनि टपक्क टिपेर फुत्त मिल्काइयो भने अचम्म मान्नु पर्दैन भन्दै भ्रष्टचारीप्रति कढारुपले प्रस्तुत हुने दाबी गर्नुभयो । ‘भ्रष्ट भयो कि गयो त्यसमा सरकार प्रतिवद्ध छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा अब अशान्ति, गुण्डागर्दी, मान्छे तर्साएर चन्दाका नाममा असुल गर्ने, मानव तस्करीहरु, लागुऔषधीहरु वा यस्ता प्रकारका अपराधलाई पनि सरकारले कढाईका साथ कारवाही गर्छ ।’
उहाँले छोरीहरु वलात्कृत हुँदा मध्यस्तकर्ता बन्ने प्रहरीलाई पनि नछाड्ने संकेत गर्नुभयो । ‘छोरीहरु वलात्कृत हुन्छन् । प्रहरीहरु मध्यस्तकर्ता भएर मिलापत्र गर्दै हिड्छन् । त्यो अब मान्य हुँदैन,’ उहाँले भन्नुभयो, ‘पक्रेका अपराधि छाड्दै हिड्ने कुरा पनि सरकालाई मान्य हुँदैन । कुनै बलात्कारी, कुनै अपराधिलाई छाडिदैँन । पुराना मुद्धा पनि खिचेर ल्याएर यो सरकारले दण्डित गर्छ । अब नेपाल कानुनको राज भनेको के–हो ? हो त्यो नेपाल बन्छ । अन्यायमा केही पर्दैन ।’
उहाँले महिला दिदी–बहिनी पनि शहर–बजारमा ढुक्कले हिड्ने वातावरण निर्माण हुने बताउनुभयो । ‘मानव बेचविखन त्यसमा पनि चेलिबेटी बेचविखन गर्नेलाई यो सरकारले छाड्दैन,’ उहाँले भन्नुभयो ।
जीन्दगीसँग ख्यालठट्टा गर्ने समय मसँग छैन
उहाँले सबै ध्यान समृद्धिमा लगाउने बताउनुभयो । ‘मेरो पाईला देशको समृद्धितर्फ तर्फ अघि बढ्नेछन्,’ उहाँले थप्नुभयो, ‘तपाईँहरुका हिराजडित भोटमा मैलो लाग्न दिन्न । तपाईँहरुलाई थाहा छ । म हिजोबाट ६६ वर्ष पूरा भएर ६७ वर्ष लागेँ । अब मसँग केटाकेटीसँग ख्याल–ठट्टा गर्दा त हुन्छ । तर, जीन्दगीसँग ख्याल–ठट्टा गर्ने समय छैन । मसँग प्रयोग गर्ने समय छैन । एउटा प्रयोग गरि हेरौँ न भन्ने समय मसँग छैन । अलिक समय पर्खिऔँ न त भन्ने समय पनि छैन । अब मैले छिटो–छिटो काम गर्नु पर्छ ।’
म कृष्ण हुँ जनता गोपिनी
उहाँले भावनात्मक ढंगले सबै जनतासँग सँगै रहने भन्दै महाभारतको कथा पनि सुनाउनुभयो । ‘महाभारतमा कृष्णका १६ सय गोपिनी छन् भन्दा धेरैले इष्र्या गरे । धेरै लोभिए । उनीहरुले कृष्णलाई १६ सय आफैँले किन राखेको ? भनेर भने । उहाँले थप कथा अझ यसरी सुनाउनुभयो । ‘अनि कृष्णले भने– ‘जुन गोपिनीसँग, वा जुन गोपिनीको खोपीमा म छैन त्यो तिमीहरुले लगे हुन्छ । कृष्णले त्यसो भनेपछि कृष्णका साथीहरु गोपिनी खोज्न गए । गोपिनी भएको ठाउँमा गएर ‘यहाँ त तपाईँ एक्लै हुनुहुन्छ होला’ भन्यो । ‘होइन यहाँ त श्रीकृष्ण हुनुहुन्छ’ भन्छन् । अर्कोमा गयो– ‘यहाँ तपाईँ एक्लै हुनुहुन्छ हो ? भन्यो–‘होइन यहाँ श्रीकृष्णजी हुनुहुन्छ’ भन्छन् । फेरि अर्कोमा गयो– ‘एक्लै हो भन्यो– ‘होइन श्रीकृष्ण हुनुहुन्छ ।’ यसको अर्थ श्रीकृष्ण खोपीमा होइन सबै गोपिनीको मनमा थियो । तपाईँहरु मेरो मनमा हुनुहुन्छ, तपाईँहरु जाँदा पनि गोपिनीहरुले कृष्ण देखेजस्तै म जहाँ पुग्दा पनि म तपाईँहरुलाई देख्छु, भेट्छु, तपाईँहरु मेरो साथमा हुनुहुन्छ । म पनि तपाईँहरुको साथमा छु । मेरो अरु उदेश्य नै छैन । देश बनाउने मात्रै मेरो उदेश्य हो ।’
कोही भोकले मन्र्दैन यो सरकारी नीति हो
उहाँले आफूलाई दु:ख–कष्ट थाहा भएको भन्दै भोकले कोही नपर्ने बताउनुभयो । ‘खान नपाएका अप्ठ्यारा मैले देखेको छु । मान्छेको भोकमरी र कठिनाई देखेको छु । सरकारले अव विधिवत निर्णय गर्छ अब नेपालमा कोही भोकै पर्दैन । कोही भोकले मन्र्दैन । यो सरकारी नीति हो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि घोषणाको सिरिजमा आउँछ । घर नभएको केही नेपाली हुँदैन । चराले गुँड बनाएर बसेको हुन्छ । तर, यत्रो जमिन छ । मान्छेले छाप्रो बनाएर पनि बस्न नपाउने अवस्था हुँदैन ।’
नयाँ पार्टीको नाम अलिकति फरक नीति एमालेकै हो
उहाँले एमाले र माओवादीबीच एकतापछि बनेको नयाँ पार्टीको नाम फरक भए पनि नीति सबै एमालेकै हुने बताउनुभयो । ‘मैले २०७४ साल एमालेमय नेपाल भनेको थिएँ । भएको छ र हो । अब एमाले र माओवादी केन्द्र मिल्दै छ,’ उहाँले भन्नुभयो, ‘नाम अलिकति फरक पर्छ । नाम अलिकति फरक परे पनि काम एमाले हो । नीति एमालेकै हो । फरक पर्ने होइन । मुलुकलाई समृद्धिमा लैजाने जनताको बहुदलीय जनवादले नै हो । स्पष्ट भए हुन्छ । सबै स्पष्ट छन् । स्पष्ट नभएकालाई हामी बुझाउँछौँ । स्पष्ट नभएकाले बुझ्छन् ।’
एमाले हुर्केका अभिमन्यु
उहाँले द्धवापर युगको कलिलो अभिमन्युलाई चक्रव्युहमा पारे जस्तो एमाले नहुने पनि दाबी गनुभयो । ‘मैले भनेको थिएँ, द्धवापर युगमा चक्रव्युह बन्यो । कलिलो अभिमन्युलाई निशस्त्र बनाएर महासथीहरुले, महायोद्धाहरुले भर्खर हुर्किएको बालकलाई चक्रव्युहमा पारेर हत्या गरेका थिए,’ उहाँले भन्नुभयो, ‘अहिलेको चक्रव्युह तोड्न सक्ने हामी छौँ । त्यसबेला अभिमन्युलाई चक्रव्युह तोडेर भित्र पस्न आउथ्यो तर बाहिर निस्कने कला थिएन । हामी द्धवापर युगको बालक अभिमन्यु होइनौँ ।’
एमालेले बक्रदृष्टि लायो भने गयो
‘एमालेले जसको टाउकोमा तथास्तु भनेर हात राख्यो त्यसले जित्यो । जसलाई राखने त्यो गयो । राप्रपाको पनि कसैलाई जितेस्, गरिखाएस् भनेको आयो,’ उहाँले भन्नुभयो, ‘अरुलाई पनि त्यस्तै हो । बुझेहुन्छ हामीले बक्रदृष्टि लगाउँदा शनि, राहुले बक्रदृष्टि लगाउँदा केही हुँदैन । देश र जनताको निम्ति उभिने एमालेले बक्रदृष्टि लायो भने गयो । त्यो खतम् । अरु ग्रहदशा जस्तो होइन । एमालेले अगुवाई गरेको छ, गर्छ ।’
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रदेश नम्बर एकका स्थानीय मामिला मन्त्री हिक्मत कार्की, सम्पर्क मञ्चका अध्यक्ष तुलसीराम मैनालीलगायतले पनि बोल्नुभएको थियो ।






