कुलमानले अघि सारे ‘इनर्जी बैंकिङ प्रणाली’ अवधारणा

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले ऊर्जाको माग र आपूर्ति व्यवस्थापन गर्न ‘इनर्जी बैंकिङ प्रणाली’को विकल्प अघि सारेको छ ।

बारबरा फाउन्डेसनले बिहीबार राजधानीमा गरेको एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदको समयमा हुने माग धान्न बढी विद्युत् आयात गर्नुपर्ने भन्दै उनले इनर्जी बैंकिङ प्रणालीको विकल्प अघि सारेका हुन् ।

इनर्जी बैंकिङ प्रणालीअन्तर्गत् नेपालमा विद्युत्को उच्च उत्पादन हुने समयमा भारत पठाउने र सुक्खायाममा भारतबाट आयात गर्ने योजना रहेको उनको भनाइ थियो ।

यो समय सुक्खायाम भएकाले भारतबाट ४०० मेगावाट विद्युत् आयात भइरहेको पनि उनले जानकारी दिए ।

मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेश नम्बर–१, ३ र ४ मा सबैभन्दा बढी ८ हजार मेगावाट ‘पाइपलाइन’मा रहेको उनले जानकारी गराए ।

यस्तै, प्रदेश नम्बर–६ मा ६०० मेगावाट पाइपलाइनमा रहेको, प्रदेश–७ मा २०० मेगावाट पाइपलाइनमा रहेको पनि उनले बताए ।

निजी क्षेत्रबाट सन्चालित ४ हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता भइसकेको जानकारी दिँदै उनले १० हजार मेगावाट क्षमताका आयोजना खरिद सम्झौताको लाइनमा रहेको बताए । २७ सय मेगावाटका लागि स्रोत जुटिसकेको पनि उनले जानकारी गराए ।

सन् २०३० सम्म ११ हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्ने भन्दै उनले त्यसका लागि २० हजार मेगावाट क्षमताका आयोजना अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका निवर्तमान सदस्य अरविन्दकुमार मिश्रले ट्रान्समिसन अहिलेको प्रमुख समस्या रहेको भन्दै प्राधिकरणले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।