पाँचथर, १३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पाँचथरले भारतले लगाएको नाकाबन्दीका कारण खुलमखुल्ला कालोबजार, महङ्गी, सार्वजनिक सवारीसाधनमा भाडादर बढाएको र भ्रष्टाचारले सीमा नाघेको भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । यसले सर्वसाधारणको दैनिक जनजीवन कष्टकर बनाएको सो पार्टीले जनाएको छ ।
पार्टीका पाँचथर सेक्रेटरी अर्जुन आचार्यले प्रेस विज्ञप्तिमार्फत जिल्लाका विभिन्न पेट्रोल पम्पबाट कालोबजार भएको भन्दै अनुगमन गरी कारबाही गर्न माग गर्नुभएको छ । व्यवसायीले पेट्रोलियम पदार्थ अवैध रुपमा कारोबार गरी मिसावट गर्दै चार गुणा बढी मूल्यमा उपभोक्तालाई खरिद गर्न बाध्य बनाएको, दैनिक उपभोग्य वस्तुको मूल्य बढाएको, सवारीसाधनमा यातायात व्यवसायीले मनपरी भाडा असुलेको र तोकिएको भाडादर कायम नगरेको राज्यको हरेक प्रशासनिक निकायमा कमिसन, भ्रष्टाचारलगायतका गतिविधि मौलाएको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता गतिविधि कात्तिक १५ गतेसम्म नियन्त्रण गर्न स्थानीय प्रशासनलाई आग्रह गर्दै नगरे नेकपा (माओवादी)ले बाध्य भएर नियन्त्रण गर्ने आचार्यको भनाइ छ । उहाँले यसका विरुद्ध सामूहिक भण्डाफोर र प्रतिरोध गर्न पनि आग्रह गर्नुभएको छ । सो पार्टीले यसबारेमा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेलाई पनि ज्ञापनपत्र बुझाएको छ । रासस
कालोबजारी नियन्त्रण गर्न विप्लव माओवादीले भण्डाफोर गर्ने






