पहिलो मुख्यमन्त्री पौडेलले लिए सपथ

काठमाडौँ- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई सपथ गराएकी हुन् ।

एमाले संसदीय दलका नेता रहेका पौडेल संघीय नेपालका सात प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने पहिलो व्यक्ति हुन् ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

संविधानअनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

सपथपछि मुख्यमन्त्री पौडेलले सहिद स्मारकमा आज नै पुष्प गुच्छा अर्पण गर्ने कार्यक्रम रहेको छ ।