काठमाडौं– सोमबार प्रदेश नम्बर १, २, ६ र ७ मा प्रदेशसभाको दोश्रो बैठक बस्दैछ । आज बस्ने दोस्रो प्रदेशसभा बैठकले १, ६ र ७ मा सभामुख चयन गर्नेछ ।
सभामुखका लागि प्रदेश नम्बर १ मा एमालेका प्रदीपकुमार भण्डारी, ६ मा एमालेकै राजवहादुर शाही र ७ मा एमालेकै अर्जुनवहादुर थापाको मनोनयन परेको छ ।
प्रदेशसभा बैठकले औपचारिक रुपमा भण्डारी, शाही र थापालाई सभामुख घोषणा गर्नेछ । प्रदेश सभा २ को विहान ११ बजेपछि बस्ने बैठकले भने कार्यविधि तयार पार्ने बताइएको छ । प्रदेश नम्बर मा फागुन २ गते सभामुखका लागि निर्वाचन हुँदैछ ।
२ नम्बर प्रदेशमा संघीय समाजवादी फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिने सहमति दुई दलबीच भइसकेको छ ।
उता, माओवादी केन्द्रले प्रदेश नम्बर ५ मा रुकुमका पूर्णबहादुर घर्तीमगरलाई सभामुख बनाउने निर्णय गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले घर्तीमगरलाई सर्वसम्मत चयन गरेको हो ।
५ नम्बर मा पनि फागुन २ गते नै औपचारिक रुपमा सभामुख चयन गर्ने कार्यतालिका छ ।
यता ३ नम्बर प्रदेशमा सभामुख र उपसभामुख यसअघि नै चयन भइसकेको छ । ४ नम्बर प्रदेशमा भने फागुन ३ बस्ने बैठकले नेत्र अधिकारीलाई सभामुख घोषणा गर्नेछ । अधिकारी माओवादीबाट छानिएका हुन् ।






