लन्डन– नेपाल पत्रकार महासंघ यूके शाखाको चौथो अधिवेशनको निर्वाचन कार्यक्रम प्रकाशित भएको छ ।
निर्वाचन समितिका संयोजक विजय थापाको अध्यक्षतामा लन्डनमा बसेको बैठकले आगामी मे १९ मा हुने अधिवेशनका लागि निर्वाचनका कार्यक्रम प्रकाशन गरिएको हो ।
निर्वाचन कार्यक्रमअनुसार मे ५ तारिख शनिबार दिउँसो १२ बजे मतदाता नामावली प्रकाशन, सोही दिन दिउँसो २ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध र साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।
उम्मेदवारको मनोनयन मे १३ आइतबारका दिन दिउँसो १० बजेदेखि २ बजेसम्म एभरेष्ट ल सोलिसिटर्स, इलिंग ब्रोडवेमा हुने छ । उम्मेदवारीमाथि दाबी विरोध र नाम फिर्ता सोही दिन दिउँसो ५ बजेसम्म गर्न तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गरिने बताइएको छ ।
मतदान मे १९ तारिखका दिन एम्पायर ब्यांक्वेटिङ हलमा बिहान १० देखि दिउँसो १ बजेसम्म र निर्वाचन परिणाम घोषणा ४:३० बजे गरिने छ ।
उम्मेदवारी दर्ताका लागि अध्यक्षका लागि २०० पाउण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवका लागि १७५ पाउण्ड, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्षका लागि १५० पाउण्ड तथा सदस्यका लागि १०० पाउण्ड उम्मेदवारी शुल्क तोकिएको छ ।
सोलिसिटर राजु थापा, निवर्तमान अध्यक्ष चिरन शर्मा तथा विकलचन्द्र आचार्य र दुत पुन निर्वाचन समितिमा छन् ।







